• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
‘हो ! हाम्रो क्षयरोग अन्त्य गछौंः राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ विभिन्न प्रकारका चेतनामूलक कार्यक्रम गरी मंगलबार मुलुकभर क्षयरोग दिवस मनाइएको छ ।
आगामी सन् २०५० सम्म देशलाई क्षयरोग मुक्त बनाउने र यो लक्ष्य प्राप्तीका लागि सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी बहन गर्ने प्रतिबद्धता सहित क्षयरोग दिवस मनाईएको राष्ट्रिय क्षयरोग केन्द्रले जानकारी दिएको छ । क्षयरोगका विरुद्धमा काम हुँदै आए पनि अझै ४२ प्रतिशत क्षयरोगी उपचार बाहिर रहेको बताइएको छ, जुन चिन्ताको विषय हो । कतिपय विरामीमा रोग लुकाउने, स्वास्थ्य जाँच नगराउने प्रवृत्ति अहिले पनि छ । त्यस्ताकै कारणले अरुमा समेत यो रोग सर्ने जोखिम रहेको छ । क्षयरोगको उपचारका लागि सरकारले विभिन्न स्वास्थ्य संस्थामा उपचार सेवा द्रुत परीक्षण सेवा पनि निःशुल्क सञ्चालनमा रहेका छन् । मुलुकका एक सय ४९ स्थानीय तहमा ‘क्षयरोग मुक्त नेपाल अभियान’ विस्तार गरिएको भएपनि नयाँ क्षयरोगी फेला पर्न छाडेका छैनन् । नियमित औषधि सेवनबाट क्षयरोग निको हुने भएपनि रोग लुकाएर उपचारै नगराउनाले अकालमा क्षयरोगीको ज्यानै जान सक्दछ । 
तसर्थ यसबाट सुरक्षित रहने, स्वास्थ्य जाँच र उपचार गराउने बारेमा अझै चेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगबाट सञ्चालन गरिँदा त्यो बढी उपयोगी बन्न सक्नेछ । निःशुल्क उपचारको व्यवस्था रहँदारहँदै पनि उपचार नगराएर रोग लुकाएर बस्ने प्रवृत्ति आफू लगायत अरुका लागि समेत घातक बन्न सक्ने भएकाले यस्तो प्रवृत्तिमा सुधारको समेत आवश्यकता छ ।