करोडौंको लगानीमा तयार भएको राजविराजको बसपार्क एक वर्षदेखि सञ्चालनमा आउन सकेको छैन ।
गत जेठ १५ गते उद्घाटन भएको यो संरचनाको प्रयोग नगरिनाले त्यसका लागि भएको ठूलो लगानीको औचित्य समेत स्थापित हुन नसकिरहेको हो । बसपार्कबाट नै यातायातका साधनहरुको पार्कि·का साथै विभिन्न गन्तव्य स्थानका लागि गाडी छुट्ने प्रबन्ध मिलाउन सके मेनरोडबाट हुँदै आएको गाडी पार्कि· र सञ्चालनको परिपाटी हट्ने र सडक अतिक्रमणमा सुधार भएर नगर क्षेत्रको अस्तव्यस्तताको परिवर्तन हुने अपेक्षा राखिएको हो । यसका अतिरिक्त नगरको स्तरीकरणका दृष्टिबाट पनि बसपार्क आवश्यक रहने कुरा अकाट्य नै हो । त्यसैले राजविराजमा बसपार्कको आवश्यकता दसकौं अघिदेखि महशुस हुँदै आएको विषय हो । लामो प्रतीक्षा पछि स्तरीय र सुविधासम्पन्न बसपार्क तयार त भयो । त्यसको सञ्चालनका लागि नगरपालिकाले नै मदारुकता देखाउन आवश्यक रहेको भएपनि टेण्डर आह्वान गरेर नगरपालिका ठेक्का कहिले लाग्ला भन्ने प्रतीक्षामा रहेको देखिँदैछ । पटक–पटक टेण्डर गर्दा पनि ठेक्का नलागेको भन्ने नगरपालिकाको भनाई आफ्नो ठाउँमा तर्फको रुपमा त होला । तर ठेक्का लागेन भने अन्य विकल्पका बारेमा सोच्नु पर्ने जुन आवश्यकता थियो त्यसमा कमी देखिएको भन्ने प्रतिक्रिया आउनुलाई पनि अन्यथा भन्न सकिन्न ।
तसर्थ अमानत वा उपायको अवलम्वन गरेर भएपनि यो संरचनालाई सञ्चालनमा ल्याउनका लागि नगरपालिकाले हरसम्भव प्रयास गर्न जरुरी छ ।