राजविराज नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले रसिद छपाई नगरभित्र रहेका निजी विद्यालयको आठ कक्षाका विद्यार्थीहरुबाट बोर्ड परीक्षाको नाममा पाँच सयका दरले रकम उठाएको विषय यति बेला निकै चर्चामा छ ।
शुल्क उठाउनका लागि निजी विद्यालयको संगठनलाई समेत गुहार मागेर यस्तो अनियमितता गरेको भन्दै सप्तरी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका प्रत्याशी एवम् पूर्व सिँचाई मन्त्री उमेशकुमार यादवले त्यसप्रति आपत्ति प्रकट गरेका छन् । नगरपालिकाले शुल्क अनलाईन मार्फत जम्मा गर्ने व्यवस्था गर्दागर्दै रसिद छपाएर रकम असुली हुनु अनियमितता भएको भन्दै यसबारे सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका छन् । सप्तरीका कतिपय विद्यालयले विभिन्न नामबाट रकम असुली गर्ने गरेको भन्दै गुनासो यस अघि पनि उठ्ने गरेको छ । परीक्षाका नाममा होस् वा सर्टिफिकेट लिंदा वा यस्तै अन्य विभिन्न नामबाट विद्यार्थीसित शुल्क लिने तथा कुनै–कुनै विद्यालयले त त्यस वापतको रसिद सम्म नदिने गरेको आरोप छ । अभिभावकमाथि भईरहेको यस प्रकारको आर्थिक शोषण प्रति ध्यान दिनुपर्नेमा उल्टै नगरपालिकाले नै यसरी रसिद छपाएर रकम असुलीमा लागेपछि ‘रक्षक नै भक्षक’ बनेको भन्दा अन्यथा नहोला । सप्तरीमा उसै पनि शिक्षाको स्तर खस्कँदो छ । कैयौं विद्यालयमा टिफिनपछि नै कक्षा सञ्चालन नगरी छुट्टी दिने प्रचलन अहिले सम्म हटिसकेको छैन । विद्यालयमा शिक्षक अभावदेखि खानेपानी, शौचालय, बाउण्ड्री वाल (घेरबेर) को अभाव छ । चर्को गर्मीमा पंखाको अभावले गर्दा कतिपय विद्यालयका कक्षा कोठामै विद्यार्थी बेहोश भएर ढल्ने गरेका छन् ।
यस प्रकारका समस्यालाई समाधान गर्ने, नियमित पठनपाठनको व्यवस्था मिलाउने तर्फ काम गर्नु पर्नेमा नगरपालिकाको शिक्षा, युुवा तथा खेलकुद शाखा नै रकम असुली तर्फ उद्दत हुन थालेपछि शिक्षामा देखिएका विकृति विसंगतिको नियन्त्रण कसरी सम्भव होला? यस्तै पारा रहिरहने हो भने शैक्षिक स्तर उकास्ने कुरा नारामा मात्रै सिमित भएर नजाला भन्न सकिन्न ।