• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीमा सडक मर्मतका क्रममा विभिन्न सडक खण्डमा काम थालनी भएको छ । तर अधिकांश सडकको काममा हुने गरेको ढिलासुस्ती र लापरवाहीका कारणले सर्वसाधारणले सास्ती खेप्नु परिरहेको छ ।
कामको सुरुवात गरेपछि पुरानो पीच भत्काउने गरिन्छ । भत्केकै सडकबाट सवारी साधन चल्ने गरेका कारणले दुर्घटनाको जोखिम बढ्ने गरेको त छ नै, यसबाहेक सडक आसपासका बस्तीमा समेत धूलोको सास्ती सहनु पर्ने बाध्यताले छोडेको छैन । निर्माण कामको ठेक्का जसले लिएको हो त्यस क्रममा उत्पन्न हुने प्रदूषणलाई नियन्त्रण गर्ने जिम्मेवारी पनि उसकै रहन्छ । तर त्यसको पालना नगर्ने अनि काममा पनि ढिलाई गरिदिनाले सास्ती खेप्नु पर्ने अवस्थाको अ न्तय हुन सकिरहेको छैन । पछिल्लो चरणमा मंगलबार धूलो नियन्त्रणको माग गर्दै सप्तरीको राजविराज–भारदह सडक खण्ड अन्तर्गत कोशी नहर स्थित विश्वकर्मा चौकमा मंगलबार सडक अवरुद्ध गरिएको छ । धूलो नियन्त्रणका लागि ठेकेदारले चासो नलिएको भन्दै आक्रोशित पीडित पक्षले सडक अबरुद्ध पारेका हुन् । निर्माण काम चलेका बखत बढी धूलो उड्ने गरेका कारण नियन्त्रणका लागि नियमित पानी हाल्नु पर्नेमा त्यस्तो नगरिएको उनीहरुको आरोप छ । राजविराज–रुपनी सडक खण्डको मलेठमा पनि गत वर्ष यसरी नै स्थानीयले पटक–पटक चक्का जाम गरेका थिए । तर अहिलेसम्म पनि उक्त सडक खण्डको काम पूरा हुन सकिरहेको छैन । ठेक्का लिने तर समयमा काम पूरा नगरी सडकलाई अलपत्र छोडिदिने प्रवृत्तिका कारण त्यसको सास्ती सर्वसाधारणले खेप्नु पर्ने अवस्था आएको छ । यस्तो हुनु कदापि उचित होईन र यसप्रति सम्बन्धित निकायले चासो लिनु पर्ने आवश्यकता छ । 
समयमा काम पूरा गराउने तथा काम गर्दाका बखत हुने गरेको प्रदूषण नियन्त्रणका लागि उपाय अवलम्वन गरी जनतालाई सास्ती खेप्नुपर्ने अवस्थाको अन्त्य हुन जरुरी छ ।