सप्तरीको कञ्चनरुप नगरपालिकामा युवाहरुका लागि मनोरञ्जन र खेलकुदको नयाँ केन्द्रका रूपमा ‘आफिया स्केटिङ्ग पार्क’ सञ्चालनमा आएको छ । कञ्चनरुप नगरपालिका वडा नं. १२ रुपनगर स्थित प्रगति टोलमा बिहीबार एक विशेष समारोहका बीच उक्त स्केटिङ्ग पार्कको औपचारिक उदघाटन सम्पन्न भएको हो ।
स्थानीयस्तरमै नयाँ प्रकारको पूर्वाधार विकास भएसँगै कञ्चनरुपका बालबालिका तथा युवाहरुमा उत्साह थपिएको देखिन्छ । आधुनिक शैलीमा निर्माण गरिएको पार्कले स्केटिङ्गप्रति रुचि राख्नेहरुका लागि अभ्यास र मनोरञ्जन दुबै अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ ।
पार्कका सञ्चालक साजर अलीले आफ्नो जीवन संघर्षको कथा सुनाउँदै भने, ‘मैले करिब १३ वर्ष खाडी मुलुकमा पसिना बगाएँ । त्यहाँ सिकेको अनुभव र कमाएको रकमलाई आफ्नै ठाउँमा लगानी गरेर केही गर्ने सोच थियो । अन्ततः आफ्नै गाउँ फर्किएर यो स्केटिङ्ग पार्क सञ्चालनमा ल्याउन सफल भएको छु ।’
‘विदेशमा बस्दा देखेको आधुनिक जीवनशैली र खेलकुद संस्कृतिले आफूलाई प्रेरित गरेको थियो । हाम्रो ठाउँका बालबालिकाले पनि त्यस्तै अवसर पाउनुपर्छ भन्ने चाहना थियो’, उनले थपे ।
स्केटिङ्ग पार्क बिहान ८ बजेदेखि राति ८ बजेसम्म सञ्चालनमा रहने बताइएको छ । सुरक्षालाई मध्यनजर गर्दै आवश्यक उपकरण तथा व्यवस्थापनसमेत मिलाइएको सञ्चालकले जानकारी दिएका छन् ।
स्थानीयवासीहरुले पनि यस्तो किसिमको नयाँ पहलले युवाहरुलाई सकारात्मक दिशामा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । उनीहरुका अनुसार यसले लागुऔषध दुरुपयोगजस्ता विकृतिबाट टाढा राख्न र शारीरिक तथा मानसिक विकासमा समेत टेवा पुर्याउनेछ ।
कञ्चनरुपमा पहिलोपटक सञ्चालनमा आएको यस स्केटिङ्ग पार्कले आगामी दिनमा अझ व्यवस्थित सेवा विस्तार गर्दै क्षेत्रीय स्तरकै आकर्षण बन्ने अपेक्षा गरिएको छ । साथै, यस्ता पहलहरुले विदेशबाट फर्किएका युवाहरुलाई आफ्नै ठाउँमा केही नयाँ गर्ने प्रेरणा दिने विश्वास गरिएको छ ।
‘पैसा कमाउन बिदेश नै जानू पर्छ भन्ने छैन स्वदेशमै मै पनि राम्रो आम्दानी गर्न सकिन्छ’ भन्छन स्थानीय साहिद अलि ।
उनी भन्छ्न गाउँको पनि बिकास हुने स्केटिङ पार्कले युवाहरुलाई कुलतबाट बचाउन मद्दत गर्छ ।”
स्वदेशमा अवसरहरु प्रयाप्त छ , युवाहरुले पनि केही गर्न सक्छ्न , भन्ने उदाहरणको पात्र साजर अलि भएको स्थानिय अजिजुल अलि बताउँछन् ।
यत्रो ठुलो स्केटिङ पार्क जिल्लामै पहिलो रहेको र युवाहरुलाइई हौसला दिने हो भने युवाहरुले धेरै राम्रा कामहरु गर्न सक्छ्न १२ नम्बर वडाका वडा सदस्य जैनुद्दिन मियाँ बताउँछन् ।