राजविराज स्थित भुमिसुधार तथा मालपोत कार्यालय परिसर भित्र रहेको लेखापढी व्यवसायीको कार्यालय सञ्चालनमा बल्ल रोक लगाईएको छ ।
उक्त कार्यालयले नै आईतबार एक सूचना जारी गर्दै लेखापढी व्यवसायीको कार्यालय सञ्चालनमा रोक लगाएको हो । सम्बन्धित मन्त्रालयबाट नै यस्तो निर्देशन सहितको पत्र प्राप्त भएपछि रोक लगाएको भुमिसुधार तथा मालपोत कार्यालयले जानकारी दिएको छ । कार्यालयमा काम गराउन आउने सेवाग्राहीको मालपोतमा उसै पनि भिडभाड रहने गर्दछ । त्यसमाथि लेखापढीका नाममा अर्को भिड रहने गरेका कारण दिनभरि नै उक्त कार्यालय अस्तव्यस्त रहने गरेको थियो । लेखापाढी गर्ने नाममा कतिपय व्यवसायीले मालपोतका कर्मचारी समेतलाई सेवाग्राहीबाट उठाएको पैसा खुवाउने र यसरी पैसा दिनेको तत्कालै काम भए पनि नदिने सेवाग्राहीलाई कैयौं दिन कार्यालय धाउन बाध्य पार्ने गरेको भनि गुनासो उठ्दै आएको थियो । सरकारी कार्यालय भित्र छुट्टै कार्यालय नै खोलेर यस प्रकारको अबैध काम हुने गरेको भनि विगतदेखि नै जनगुनासो उठ्ने गरेकै हो । लेखापढी व्यवसायी सरकारी कर्मचारी होईनन् । तर उनीहरु मध्येका कतिपयले मालपोत कार्यालयका कागजपत्र समेत पल्टाउने र पैसा दिने सेवाग्राहीको काम चाँडै गर्नमा सघाउने गरेको सम्मका कुरा बाहिर आउने गरेका थिए । सरकारी कार्यालयका कागजपत्रमा उनाउ व्यक्तिको पहुँच हुनुलाई सामान्य रुपमा लिन मिल्दैन ।
हज्जारौं व्यक्तिको जग्गा जमीनको स्रेस्ता रहेको कार्यालयमा यस प्रकारका गतिबिधि रोक्नकालागि पनि यस प्रकारको निर्णय आवश्यक थियो । ढिलै भए पनि यो काम भएका कारण अव मालपोतको अस्तव्यस्ततामा कमी आउने र सेवाग्राहीका काम पनि समयमा सहजताका साथ हुने अपेक्षा लिन सकिन्छ ।