फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम अत्यन्तै आश्चर्यजनक देखिएको छ । कल्पना भन्दा बाहिरको यस परिणामले यति बेला मुलुक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पथ बनेको छ ।
पुराना राजनीतिक दलहरुको मत परिणाम सोचे भन्दा अत्यन्त न्यून रहेको छ । जेनजी (नव पुस्ता) आन्दोलनका क्रममा भदौं २३ मा बगेको रगत, भदौं २४ मा भएको ध्वंशात्मक घटना र पुराना दलको नेतृत्वको सरकारमा बढ्दै गएको बेथितिबाट उत्पन्न वितृष्णा, असन्तुष्टी र निराशालाई फागुन २१ को निर्वाचनका क्रममा जनताले मतपेटिकामा प्रतिवादस्वरुप प्रकट गरेको मान्न सकिन्छ । जनताले गरेको मत परिवर्तनको निर्णयको रुपमा नै यस्तो निर्वाचन परिणाम आएको भनेर बुझ्न गाह्रो नपर्ला । लोकतन्त्रमा जनमतको कदर यस कारणले पनि आवश्यक हुन्छ किनकी निर्वाचनका समयमा मतका लागि तिनै जनतासमक्ष पुग्नै पर्दछ । जनता के कति अप्ठ्यारोमा छन् र उनीहरुले के कस्ता समस्या झेलिरहेका छन् भन्ने तर्फ विचार नपु¥याईनु, बढ्दो विकृति विसंगति प्रति चासो नराख्नु र सत्ताको खेलमा अलमलिनाको परिणाम स्वरुप जनताले पनि मत परिवर्तन गरेका छन् भन्दा अन्यथा नहोला । नयाँ पार्टीका रुपमा उदाउँको रास्वपाले यतिबेला दुई तिहाई निकटकै बहुमत ल्याएको छ । यो मत परिवर्तनले रास्वपालाई फगत सत्तामा पु¥याएको मात्र नभई ठूलो जिम्मेवारी पनि बोकाएको छ । जनभावनालाई आत्मसात गर्दै यतिका समयदेखि जनताले सहँदै आएको विकृति, विसंगति, अ न्याय अराजकता, दण्डहीनता, नातावाद, कृपावादलाई सरकारले हटाउन सक्नुपर्दछ ।
जनतालाई सुशासन, विकास, शान्ति र रोजगारी दिने सवालमा सरकारको विशेष ध्यान केन्द्रीत हुनु पर्दछ । लोकतन्त्रमा जनताको मत नै सर्वशक्तिमान र सार्वभौम रहने हुँदा अहिले जिम्मेवारीमा आएका जनप्रतिनिधिहरुले लोकसम्मतिका आधारमा असल संसदीय अभ्यास गर्दै जनतालाई सुशासन दिन आवश्यक छ ।