न्यूज टुडे
राजविराज,०१ चैत ।
सप्तरीमा १ क्वीन्टल ११ किलो ६ सय ग्राम लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । कञ्चनरुप नगरपालिका ७ बस्ने ४२ बर्षीय जामुन महतो र सोही स्थानकी २८ बर्षीय कविता कुमारी माझी लागूऔषध गाँजासहित पक्राउ परेका हुन् ।
राजविराज- कंचनपुर हुलाकी सडक खण्ड अन्तर्गत सप्तरीको तिरहुत गाउँपालिका २ बडहरामा कंचनपुरदेखि डिमन तर्फ जाँदै गरेको प्र.२-०१-००१ ह ००२२ नम्बरको अटो रिक्सामा शंका लागि चेकचाँज गर्दा उक्त गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय कंचनपुरबाट खटिएका गस्ती टोलीले अटो चालक महतो र अटोमा सवार माझीलाई शनिबार गाँजा सहित नियन्त्रणमा लिएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी डम्बर बहादुर पुरीले जानकारी दिए ।
गाँजा र अटोसहित पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय कंचनपुरको नियन्त्रणमा राखी जिल्ला अदालत राजविराजबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान कार्य अगाडी बढाइएको डिएसपी पुरीले बताएका छन् ।