न्यूज टुडे
राजविराज,२४ फागुन ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा सप्तरी निर्वाचन क्षेत्र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरकान्त चौधरी जीत नजिक पुगेका छन् । जसपा नेपालका उम्मेदवार उपेन्द्र यादवलाई पछि पार्दै रास्वपाका चौधरी जीत नजिक पुगेका हुन् ।
आइतबार विहान ०८ :०० बजे सम्मको मतपरिणाम अनुसार सप्तरी ४ मा रास्वापाका सिताराम साह दोब्बर मतान्तरले निर्वाचित भएका छन् भने अन्य तीन वटै निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवारहरु अग्रस्थानमा रहेका छन् ।
सप्तरी ३ मा रास्वपाका चौधरीले भारी मतले जसपा नेपालका यादवलाई पछि पारेका छन् ।
सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अमरकान्त चौधरीले सुरुवाती अग्रतालाई कायम राखेका छन् । उनले २९ हजार २७ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जसपा नेपालका उम्मेदवार उपेन्द्र यादव पछ्याउँदै छन् । उनले हालसम्म १३ हजार ३ सय १३ मत पाएका छन् भने नेपाली काँग्रेसका दिनेश कुमार यादवले ७ हजार ८ सय २९ मत प्राप्त गरेका छन् ।
चारवटै निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त जानकारी अनुसार सप्तरी निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपाका उम्मेदवार पुष्पा चौधरी, क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार रामजी यादव भारी मतान्तर बढाउँदै अग्रस्थान कायमै राखेका छन् ।
यस पटक सप्तरीका चारै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा।स्वतन्त्र गरी कुल १ सय १ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचन आयोगका अनुसार जिल्लाभर करिब ६८ प्रतिशत मत खसेको जनाएको छ ।
सप्तरी ४ को मतगणना सकिएपनि हाल सबै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेकोले आइतबार साँझ सम्म अन्तिम परिणाम आउने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।