सप्तरीको कठौनादेखि पातोसम्मको सडक अहिले पनि बेहाल अवस्थामै छ ।
उत्तरी भेगमा रहेको पूर्वपश्चिम राजमार्गबाट दक्षिणको पातो बजारसम्म जोड्ने यस सडक खण्डको स्तरोन्नति गर्ने भनि यहाँ विभिन्न चरणमा दलका उम्मेदवारहरुले प्रतिबद्धता जनाउँदै आएका छन् । तर पनि अहिलेसम्म काम पूरा नभएका कारण त्यस्ता प्रतिबद्धता केवल चुनावका समयमा मुद्दा उठाउने माध्यम मात्र बनेका छन् । कठौनादेखि पातोसम्मका वस्तीमा जनतालाई आवागमनको सुबिधा उपलब्ध गराउनका लागि यस सडकको स्तरोन्नतिको विकल्प नरहेको बारेमा यहाँका नेता तथा जनप्रतिनिधिलाई जानकारी नरहेको विषय होईन । तर चुनाव जितेर गएका नेताले पनि चासो नलिएका कारण यस भेगका जनता अहिले पनि सुक्खा याममा धूलो र वर्षामा हिलोको सास्ती भोग्न बाध्य छन् । पूर्वपश्चिम राजमार्ग जोडिएको कठौनाबाट पातो तर्फ जाँदा यसै सडक खण्डले हुलाकी सडक समेतलाई पार गरेर गएको छ । कठौना पातो सडकको स्तरोन्नति पूरा भईदिए यस भेगका बासिन्दालाई आवागमनमा निकै सहज बन्ने भए पनि केवल सपना देखाउने काम मात्र हुँदै आएको स्थानीयको प्रतिक्रिया छ । अहिले सन्निकट रहेको प्रतिनिधिसभा निर्वाचनका क्रममा पनि यस सडकको अवस्था सुधार्ने प्रतिबद्धता आउन थालेका छन् । जनताले जिताएर पठाएका जनप्रतिनिधिले पनि विगतमा प्रतिबध्दता अनुसारको काम नगरेका कारणले अव गर्लान् भनि पत्याउन पनि अप्ठ्यारो भईरहेको छ भने त्यसलाई पनि अन्यथा मान्न सकिन्न ।
तसर्थ बाचा र प्रतिबद्धता प्रति अड्न सक्ने हो भने अव पनि यस सडकको दुर्गति तर्फ ध्यान दिन आवश्यक छ ।