जिल्ला प्रशासन कार्यालय सप्तरीले मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरणका बारेमा चासो लिएको छ । आसन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै प्रशासनले यी पदार्थ बिक्री वितरणमा कडाई गर्ने लिएको हो ।
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका साथै उपभोक्ता हित संरक्षणलाई विशेष ध्यान दिँदै यस्तो निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जहाँसम्म मदिरा बिक्री वितरणमा कडाईको सवाल छ, यसलाई निर्वाचनको समयमा मात्र ध्यान दिने भन्दा पनि अरु बेला समेतमा व्यवस्थित गरियो भने त्यो अझै उपलब्धिमूलक बन्नेमा शंका नरहला । यो विषय शान्तिसुरक्षा कायम गर्ने सवालसित पनि जोडिएकोले मदिरा बिक्री वितरणलाई व्यवस्थित गर्न आवश्यक छ । तोकिएको समयसम्म मात्रै मदिरा पसल खोल्ने, इजाजत बिना खोलिएका मदिरा पसलको अनुगमन गरी कारवाही गर्ने मापसे गरी सवारी साधन सञ्चालनमा रोक लगाउने जस्ता काम हुन सके यसले शान्तिसुरक्षा कायम गर्न, दुर्घटना न्यूनीकरण तथा मदिरा व्यवसायीलाई पनि व्यवसाय सञ्चालनमा बाधा पर्ने छैन । प्रशासनले मदिरा बिक्री वितरणको समय निर्धारण गरिदिएको भए पनि कतिपयले त्यसभन्दा बढी समयसम्म पनि कारोबार गर्ने गरेको पाईन्छ ।
यसरी अबेर रातीसम्म मदिरा बेच्दा पनि त्यस्तामाथि कारवाही नहुने हो भने समय सीमा तोकेर जारी गरिएको सूचनाको अर्थ नरहन सक्दछ । निर्वाचनसहित प्रशासनको निर्णय आफैमा सकारात्मक छ । यसका साथै यसलाई अरु समयमा पनि निरन्तरता दिन सकियो भने यसले शान्ति सुरक्षा कायम गर्नमा थप मद्दन मिल्नेछ ।