• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

जसपा नेपालका प्रभावशाली नेता ठाकुरद्वारा पार्टी परित्याग

जसपा नेपालका प्रभावशाली नेता ठाकुरद्वारा पार्टी परित्याग
न्यूज टुडे
राजविराज,०८ फागुन । 
जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रभावशाली नेता जयप्रकाश ठाकुरले पार्टी परित्याग गरेका छन् । शुक्रबार  प्रेस विज्ञप्ती जारी गर्दै ठाकुरले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
पार्टीमा आन्तरिक लोकतन्त्र कमजोर पारिदैं गएको, सामूहिक छलफलभन्दा व्यक्ति विशेषको निर्णय हाबी हुने गरेको सिद्धान्तभन्दा सत्ता समीकरणलाई प्राथमिकता दिने गरेको, अवसरवादी गठबन्धन र अस्थिर राजनीतिक लाइन दिने गरेको, पारदर्शिता र जवाफदेहिताको अभाव देखिदैं गएको ठाकुरले विज्ञप्तीमा बताएका छन् ।
 पार्टीमा नातावाद, कृपावाद, जातिवाद, अर्थवाद तथा नश्ल चिन्तनवादी सोंचबाट प्रभावित एवम ग्रसित भइसकेले पार्टी परित्याग गरेको ठाकुरद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । 
उनले राजनीतिक सिद्धान्त, विचारधारा, संस्थागत प्रकृया र जनविश्वासमा आधारित हुनुपर्नेमा जसपा नेपालको बर्तमान संरचना र अभ्यासलाई नियाँल्दा त्यो क्रमशः व्यक्ति केन्द्रीत, अवसरवादी र सिद्धान्तहीन दिशातर्फ उन्मुख देखिएको उल्लेख छ ।
तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय उपाध्यक्ष रहेका ठाकुरले आफ्‌नो स्वतन्त्र राजनीतिक अस्तित्व समाप्त पार्दै लोसपा जसपा नेपालमा बिलिन भइसकेको विज्ञप्तिमा बताइएको छ ।
कार्यकारीणी समिति सदस्य र पार्टीको साधारण सदस्यताबाट समेत राजीनामा दिएको बताउँदै ठाकुरले आगामी दिनमा पनि देश तथा मधेशको लोकतान्त्रिक सुदृढिकरण, मधेशी जनताको पहिचान, अधिकार र आत्म सम्मानको संरक्षण तथा समावेशी, न्यायपूर्ण र संस्थागत लोकतान्त्रिक राज्य संरचनाको स्थापना गर्न दृढ र अविचल रहीरहने उल्लेख गरेको छ । 
पार्टी परित्यागको घोषणा गरेका  नेता ठाकुरले आगामी राजनीतिक कार्यदिशा बारे भने कुनै उल्लेख गरेका छैनन् ।