निर्वाचन आचारसंहिता पालना राजनीतिक दल र पत्रकारसहित सबैपक्ष जिम्मेवार बन्नुपर्ने राजविराजमा बिहिवार आयोजित एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ सप्तरीको संयोजनमा आयोजित निर्वाचन आचारसंहिता र मिडियाको भूमिकासम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो जोड दिएका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि महासंघका केन्द्रीय महासचिव दाहाल । फोटो : न्यूज टुडे
बक्ताहरुले निर्वाचनको समयमा राजनितिकदल र पत्रकारहरूले अझ जिम्मेवार, संवेदनशील र तथ्यपरक ढंगले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका छन्।
निर्वाचन अवधिमा मिडियाको भूमिका अत्यन्त संवेदनशील हुने भएकाले आचारसंहिताको पूर्ण पालना गर्न आवश्यक रहेको उनीहरुको जोड थियो ।
कार्यक्रममा सहभागी पत्रकारहरु । फोटो : न्यूज टुडे
उनीहरुले पत्रकारिता पेशा समाजको विश्वाससँग प्रत्यक्ष जोडिएको क्षेत्र भएकाले समाचार प्रकाशन तथा प्रसारण गर्दा सत्य–तथ्य, सन्तुलन र निष्पक्षतालाई प्राथमिकता दिनुपर्ने बताए।
“निर्वाचनका बेला साना गल्तीले पनि ठूलो असर पार्न सक्छ’ कार्यक्रमका सहभागी वक्ताहरुले भने, ‘त्यसैले हामी सबै संवेदनशील छौं र जिम्मेवारीपूर्वक प्रस्तुत हुनेछौं भन्ने विश्वास छ ।’
कार्यक्रममा निर्वाचन आचारसंहिताका प्रावधानहरू, सामाजिक सञ्जालको प्रयोग, भ्रामक सूचना नियन्त्रण तथा उम्मेदवार र दलहरूबीच सन्तुलित समाचार सम्प्रेषणका विषयमा विस्तृत छलफल गरिएको थियो।
सहभागीहरूले निर्वाचन अवधिमा अफवाह, दुष्प्रचार र अपुष्ट सूचनाबाट बच्न पत्रकारहरूले तथ्य जाँच (फ्याक्ट–चेक)लाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका थिए।
बक्ताहरु जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूलाई पेशागत मर्यादा र आचारसंहिताको दायराभित्र रहेर समाचार सम्प्रेषण गर्न आग्रह गरेका थिए। सहभागी पत्रकारहरुले स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिताले नै स्वच्छ र विश्वसनीय निर्वाचन वातावरण निर्माण गर्न सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा उठेका सुझावहरूलाई आगामी निर्वाचन अवधिमा व्यवहारमा उतार्ने प्रतिबद्धता समेत व्यक्त गरिएको आयोजकले जनाएको छ।
अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासँघका महासचिव रामप्रसाद दहाल, प्रतिनिधि सभा सदस्य निर्वाचन सप्तरीका मुख्य निर्वाचन अधिकृत किशोर घिमिरे, प्रेस काउन्सिल नेपालका सदस्य शान्ताराम बिडारी प्रमुख जिल्ला अधिकारी टुवराज पाेखरेल, , मधेश प्रदेशका आमसंचार प्राधिकरणका अध्यक्ष जितेन्द्र खडगा, नेपाल पत्रकार महासंघ मधेस प्रदेशकी उपाध्यक्ष अम्विका दाहाल लगायतले मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा प्रेस जनमतका केन्द्रीय अध्यक्ष तथा नेपाल पत्रकार महासँघका मधेस प्रदेशका सल्लाहकार अबधेश झा,उच्च बार ईकाई राजबिराजका अध्यक्ष हरेराम यादब, पत्रकार हेमशंकर सिंहले प्रेस काउन्सिल नेपाल संविधानको मर्म र भावना बिपरित असमावेशी रुपमा गठन भएको टिप्पणी गर्दै निर्वाचन आचारसंहिताकाे पालना राजनितिकदलहरू संचारकर्मीहरु तथा नियमकारी निकायहरुले पुर्णरूपमा पालना गर्नुपर्नेमा जाेड दिए।
नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख निर्वाचन अधिकारी रमेश कुमार जाेशी र प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले जिल्लाको निर्वाचन आचारसंहिताको अबस्था तथा प्रेस काउन्सिल नेपाल आचारसंहिता मिडिया अनुगमन प्रमुख प्रकाश शर्माले निर्वाचन आचारसंहिताको बारे प्रकाश पारे ।
नेपाल पत्रकार महासंघ सप्तरीका सह सचिब डम्बर राईद्वारा संचालित कार्यक्रममा स्वागत उपाध्यक्ष रामनारायण विश्वासले गरे भने अर्का जिल्ला उपाध्यक्ष सुधा देवले धन्यवाद व्यक्त गरिन ।
कार्यक्रममा बरख गणका गणपति प्रमुख सेनानी सोभित बहादुर चन्द, सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम कुमार केसीलगायत राष्ट्रिय तथा स्थानीय मिडियामा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।