• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

अरुलाई होच्याउने गतिविधि निर्वाचन आचारसंहिता विपरीत कदम हो : प्रजिअ पोखरेल

अरुलाई होच्याउने गतिविधि निर्वाचन आचारसंहिता विपरीत कदम हो : प्रजिअ पोखरेल
न्यूज टुडे
राजविराज, ०६ फागुन ।
सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले अरुलाई होच्याउने गतिविधि निर्वाचन आचारसंहिता विपरीत कदम हुने भएको बताएका छन् ।  राष्ट्रिय समाचार समितिद्वारा ६५औँ वार्षिकोत्सवको अवसरमा राजविराजमा बुधबार आयोजित निर्वाचन आचारसंहितामा सञ्चारको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 
कार्यक्रममा मञ्चासीन प्रमुख अतिथि प्रजिअ पोखरेलसहित अतिथिगण । फोटो : न्यूज टुडे
प्रमुख जिल्ला अधिकारी पोखरेलले उम्मेदवार,राजनीतिक दल र त्यसका कार्यकर्ता  तथा प्रतिनिधिले आचारसंहिता उलंघनमा बढी ख्याल गर्नुपर्ने बताए । उनको अरुलाई होच्याउने गतिविधि निर्वाचन आचारसंहिता विपरीत कदम हुने भएकोले यसमा सबै सचेत हुनुपर्नेमा जोड दिए ।।
 सञ्चारकर्मीहरूले विश्वसनीयतालाई केन्द्रमा राखी सत्यतथ्य र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्ने बताउँदै उनले समाजका सवाल र समस्यालाई उजागर गर्नु पर्नेमा जोड  दिए ।
कार्यक्रममा सहभागीहरु । फोटो : न्यूज टुडे
नागरिकलाई सचेत र सजग बनाउनु सञ्चारकर्मीको प्रमुख दायित्व भएको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रजिअ पोखरेलले निर्वाचन आचारसंहिता राजनीतिक दलहरूकै सहमतिमा निर्माण भएको हुँदा यसको उल्लंघन गर्नेलाई कानुनी कारबाही गर्न सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ, शाखा सप्तरीका अध्यक्ष श्रवणकुमार देवले आचारसंहिता उल्लंघनका कारण केही सञ्चारकर्मीबाट पत्रकारिताको साखमा आँच पुगिरहेको  बताए । उनले राजनीति र पत्रकारिता सँगसँगै अघि बढाउन नहुने उल्लेख गरे । राजनीतिक गतिविधिमा सक्रिय व्यक्तिले स्पष्ट रूपमा एक पेशा रोज्नुपर्ने उनको भनाइ थियो ।
 नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णुकुमार मण्डलले नयाँ उदयमान पत्रकारहरुमा  पत्रकारिताको अल्पज्ञानका कारण पत्रकार आचारसंहिताको पालना नहुँदा पछिल्लो समय पत्रकार जगत बद्नाम भएको  भन्दै चिन्ता व्यक्त गरे । 
रासस सप्तरीका प्रमुख शम्भु प्रसाद यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वसभापति एवम् प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा,  प्रेस मञ्च नेपालका केन्द्रीय सदस्य वृजमान तामाङ,  आदिवासी जनजाति पत्रकार महासंघ मधेस प्रदेशकी उपाध्यक्ष प्रिया सिंह थारु, नेपाल प्रेस युनियन सप्तरीका अध्यक्ष बिनयलाल कर्ण, प्रेस मंच नेपाल, सप्तरीका अध्यक्ष धर्मपाल राउत, वरिष्ठ पत्रकार गणेशलाल देवले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन आचारसंहिता पूर्ण रूपमा पालना गर्न सबै पक्ष गम्भीर बन्नुपर्नेमा जोड दिए । 
उनीहरुले मधेश प्रदेशका मुद्दा र समस्याहरू राससमा अपेक्षाकृत रुपमा स्थान नपाएकोमा गुनासो गर्दै मधेश क्षेत्रमा कार्यरत रासस प्रतिनिधिहरू अझ सक्रिय र उत्तरदायी हुनुपर्ने बताए । 
रासस सप्तरी प्रतिनिधि उमेश कुमार साहद्वारा संचालित कार्यक्रममा स्वागत अर्का प्रतिनिधि अरुण कुमार यादवले गरे ।
उक्त अवसरमा प्रमुख अतिथि प्रजिअ पोखरेल, राष्ट्रिय अनुसन्धान कार्यालय सप्तरीका प्रमुख अनुसन्धान उपनिर्देशक कुलचन्द्र नेपाल, सशस्त्र प्रहरी उपरीक्षक रोशन बुढाथोकीसहित नेपाल पत्रकार महासंघ सप्तरीकाका अध्यक्ष तथा पूर्व अध्यक्षहरु र वरिष्ठ पत्रकारहरुलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।