• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

तामाङ समुदायको मौलिक पर्व ल्होछार सुरु : मान्यजनबाट टीका खदा ग्रहण गरिदैं

तामाङ समुदायको मौलिक पर्व ल्होछार सुरु : मान्यजनबाट टीका खदा ग्रहण गरिदैं
न्यूज टुडे
राजविराज,०६ फागुन ।
तामाङ समुदायको मौलिक साँस्कृतिक पर्व सोनाम ल्होछारको टीका सुरु भएको छ । कुलदेव्ताको पूजा गरि चढाएको खदा तथा अक्षता र टोटलाको फुलको टिका प्रसादको रूपमा ग्रहण गरिएको हो ।
तामाङ समुदायले धार्मिक विधि अनुसार बुधबार विहान गुम्बा तथा घरघरमा कुल देवताको पूजा अर्चना गरी  विहान ०८: ०५ बजे देखि मान्यजनको हातबाट टीका लगाउन सुरु गरेको नेपाल तामाङ घेदुङ सप्तरीले जनाएको छ । बुधबारबाट सुरु भएको टीका पाँच दिन सम्म जारी रहने नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष सुर्यमान तामाङले बताए । 
 डुल ल्होको विदाई तथा २८६२ औं सोनाम(ता ल्हो) को स्वागत स्वरुप तामाङ समुदायले मंगलबार साँझ बर्षभरी कमाएको सम्पत्तिको पूजापाठ गरि धार्मिक विधि अनुसार ल्होछार पर्व मनाउने गर्छन् ।
तामाङ समुदायले पुरानो बर्षको विदाइमा( छेपागी) जानीनजानी बर्षभरी गरिएको पाप कार्मबाट मुक्ति तथा नयाँबर्षमा सम्पूर्ण प्राणीको कल्याणको कामना गरि ल्होछार पर्वको पहिलो दिन साँझको खाना खाएपछि सम्पूर्ण भाँडाकुँडा तथा घरसफा, चोखो निधो गरि आफ्नो धनसम्पती एक ठाउँमा जम्मा गरि थालमा पैसा,अक्षता, खदा, टोटलाको फुलसहित फलफुल राखी दियो बालेर घरमुलीले पूजापाठ गर्ने परम्परा रहेको छ । 
यसरी पूजापाठ गर्नाले पुण्य प्राप्त  हुने र बर्षभरी कमाएको सम्पत्तिको सह बस्ने तथा सम्पूर्ण प्राणी जगतको कल्याण हुने धार्मिक विश्वास रहेको छ । 
ल्होछार पर्वको पहिलो दिन घरमुलीले विहानै सबेरै उठेर स्नान गरि गुम्वा तथा घरमा लुङ्दोर फेरेर कुलदेवतालाई साँझ तयार पारिएको खदा, अक्षता,टोटलाको फुल सहिद प्रसादको रुपमा लुङ्दोरको फेदमा चढाउने गरिन्छ । यसरी प्रसाद चढाएर पूजापाठ गरिएको खदा, अक्षता, टोटलाको फुल मान्यजनले कुलदेवताको प्रसाद रुपमा घरपरिवारलाई टीका खदा ग्रहण गराइन्छ । यो टीका खदा ग्रहण गरि आर्शिवाद लिने कार्य  पाँचदिनसम्म जारी रहन्छ ।  कुलदेवताको प्रसादको रुपमा ग्रहण गरिएको खदा टिकाले मनकामना पूरा हुने, बर्षभरी घर परिवारमा सुख, शान्ति, खुशी तथा पुण्य प्राप्ती हुने धार्मिक मान्यता रहेको छ ।
तामाङ ल्हो परम्परामा विश्वास गर्ने समुदाय भएकोले नयाँ ल्हो फिरेको अवसरमा बुधबार देखि आफन्त भेटघाट गर्ने, मीठो खानपिन खाने, आफुभन्दा ठुलासंग टीका, खादा लगाउने, घरमा लुङ्रदोर, दर्ज्यु आदि फहरार धुमधामसंग घरघरमा ल्होछार पर्व मनाइने नेपाल तामाङ घेदुङ सप्तरीका अध्यक्ष तामाङले बताए ।  मंगलबार चन्द्रपात्रो अनुसार डुल ल्हो (सर्प वर्ष) को अन्तिम दिन, बुधबारदेखी ता ल्हो (घोडा वर्ष-अग्नि, पुरुष) सोनाम ल्होछार, २८६२ औं प्रारम्भ भएको उनले बताए।
 बुधबार देखी संसारका मंगोल मूलका देशहरूमा नयाँ वर्षको सुरुवात भएको खुशियालीमा विभिन्न कार्यक्रमको आयोजना गरि भब्य उत्सव मनाउने अध्यक्ष तामाङले जानकारी दिए । हामी सानो देश नेपालका सर्व प्राचीन तामाङ जाति पनि संसारले स्वीकार गरेको, मानेको परम्पराभन्दा भिन्न हुन सक्दैनौ भन्दै उनले ल्होछार पर्वलाई हर्सोल्लासकासाथ मनाउन आग्रह गरे । 
डुल ल्होको विदाई र ता ल्होको स्वागत स्वरुप तामाङ समुदायले ल्होछारको अघिलो दिन (औसी)  तिथिको साँझ ल्होछार इभ तथा लामा गुरुद्वारा पूजापाठ गर्ने परम्परा रहेको नेपाल तामाङ घेदुङ्गका संघीय सदस्य भिम घिसिङले बताए ।  माघ महिनादेखी नै ल्होछारको अवसरमा सार्वजनिक समारोहका कार्यक्रमहरू तथा शुभकामना आदानप्रदान गरि ल्होछारको स्वागत गरिएता पनि मंगलबारदेखि  तामाङ समुदायले धार्मिक विधि अनुसार घरघरमा ल्होछार पर्व मनाउन सुरु गरिएको उनले बताए ।