• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

विकास र समृद्धिका लागि जातीय, वर्गीय विभेद तथा आसमानता अन्त्य हुनुपर्छ : उपेन्द्र 

विकास र समृद्धिका लागि जातीय, वर्गीय विभेद तथा आसमानता अन्त्य हुनुपर्छ : उपेन्द्र 
न्यूज टुडे
राजविराज, ०५ फागुन । 
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले विकास र समृद्धिका लागि जातीय, वर्गीय विभेद तथा आसमानता अन्त्य हुनुपर्नेमा जोड दिएका छन् ।  सप्तरीको शम्भुनाथ नगरपालिका २ कनकपट्टीमा मंगलबार घरदैलो अभियानको क्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
घरदैलो अभियानमा स्थानीय मतदाताहरुलाई सम्बोधन गर्दै अध्यक्ष यादवले विकास र अधिकारका लागि लामो लडाइँ लडेको बताए । मधेस विद्रोह, आदिवासी, जनजाति, मुश्लिम,थारु, दलित आन्दोलनबाट संविधानमा हकअधिकार उल्लेख गराउन सकिएको बताउँदै अध्यक्ष यादवले त्यो प्रयाप्त नभएको जिकिर गरे । उनले विकास र समृद्धिका लागि जातीय, वर्गीय विभेद तथा आसमानता अन्त्य हुनुपर्नेमा जोड दिए । 
पूर्व साँसद जगदिश साह र दानालाल चौधरीसंग भलाकुसारी गर्दै अध्यक्ष यादव । फोटो : न्यूज टुडे
संविधान संशोधन गरी बाँकी अधिकार प्राप्तिका साथै विकास र समृद्धिका लागि आफु प्रयासरत रहने अध्यक्ष याददवले विश्वास व्यक्त गरे। जिल्लाकै पछाडि परेका क्षेत्रको रुपमा रहेको सप्तरी ३ मा धेरै काम गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले भने ‘एक सरकारकै नीति विभेदकारी छ, मधेशबाट ७० प्रतिशत राजश्व असुल्ने तथा मधेशलाई ११ प्रतिशत मात्र बजेट विनियोजन गरिन्छ, मधेशका जिल्लाहरु अझै. पछाडि छ, माथि उठाउनका लागि पर्याप्त बजेट आवश्यक छ ।’
घरदैलोका क्रममा सप्तरी ३ का उम्मेदवार समेत रहेका अध्यक्ष यादवले पूर्व सांसदद्वय दानालाल चौधरी र जगदीश साहसँग भेंटघाट गरेका छन् । भेंटघाटमा समसामयिक राजनीतिक अवस्था, जनताको हक–अधिकार र क्षेत्रको विकास निर्माण लगायतका विषयमा छलफल भएको थियो ।
अध्यक्ष यादवले शम्भुनाथ नगरपालिकाको विभिन्न वडा तथा टोलहरुमा मतदाताको घरदैलोमा पुगेर मत माग्ने कार्यलाई निरन्तरता दिए । पार्टीका केन्द्रीय सचिव एवम् क्षेत्र निर्वाचन परिचालन समितिका संयोजक शैलेन्द्र प्रसाद साहका अनुसार शम्भुनाथ नगरपालिका अन्तर्गतका नरहैया, सखुवा, नरही, सिरकजरी, खोक्सर, कनकपट्टी, कठौना बजारका मतदाताहरुसँग भेटेर मत मागेका छन् ।
घरदैलोका क्रममा बाटोघाटो नबनेको, विद्यालय तथा अस्पतालमा गुणस्तरीय सेवा नभएको, बिटौरी जग्गाको समस्या, क्षेत्रको प्रमुख सडक कठौना–पातो सडक निर्माण नहुँदा सास्ती झेल्नुपरको, बेरोजगारी, सिंचाइ तथा मलखाद अभाव लगायतका समस्याहरु अधिकांश मतदाताले अध्यक्ष यादवसँग राखेका छन् । यसअघिका जनप्रतिनिधिहरुले विकासीय तथा जनताको हकहितका सवालहरुमा ध्यान नदिएको भन्दै घरदैलोका क्रममा सर्वसाधारणले गुनासो गरेका छन् ।
कार्यक्रममा केन्द्रीय सदस्य एवम् मधेश प्रदेशसभाका पूर्व सदस्य बिदेश्वर प्रसाद यादव (बिक्की), केन्द्रीय सदस्यद्वय रामेश्वर मण्डल, रमिलादेवी साह, जिल्ला उपाध्यक्ष हरेराम यादवले सप्तरी ३ को विकासका लागि अध्यक्ष यादवलाई उम्मेद्बारी दिन आग्रह गरिएको भन्दै सबैले सहयोग गर्नुपर्नेमा जोड दिए । 
घरदैलो कार्यक्रममा केन्द्रीय नेता एवम् पूर्व मन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव शैलेन्द्र प्रसाद साह, केन्द्रीय सदस्य शैलेन्द्रमोहन झा,, पूर्व केन्द्रीय सदस्य दिल कुमारी चौधरी, जिल्ला सदस्य उषादेव यादव, समानुपातिक उम्मेदवार चुल्हाइ मण्डल, निर्मला मण्डल, धनेश्वर यादव, रुपनी गाउँपालिकाकी पूर्व उपाध्यक्ष बेचनी सरदार, आशा तामाङ लगायतका नेताहरु सहभागी छन् । 
सप्तरी क्षेत्र नम्बर ३ मा विष्णुपुर, रुपनी, राजगढ गाउँपालिका र शम्भुनाथ र डाक्नेश्वरी नगरपालिका गरी कुल एक लाख ११ हजार ८ सय ७१  मतदाता छन् ।