• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
बजारमा बेच्नका लागि ल्याईएका कतिपय सागसब्जीमा अत्यधिक विषादी प्रयोग भएको समाचार पटक पटक आएकै हो ।
राजधानीका तरकारी मण्डीमा ल्याइएका सागसब्जीमा विषादीको मात्रा प्रयोग भए नभएको नमूना जाँच गर्दा यस्तो भेटिएको समाचार बढी जसो आउने गरेका छन् । सप्तरी लगायतका बजारहरुमा पनि बाहिरबाट आयातीत सागसब्जी बिक्री हुने गर्दछन् । तर तिनमा विषादीको मात्रा कति छ भन्ने परीक्षण बिना नै बेरोकटोक खरिद बिक्री भईरहेको अवस्था छ । जनस्वास्थ्यका दृष्टिकोणले पनि यस्ता वस्तुको उपभोग घातक छ । तर त्यसको चेकजाँच, अनुगमन केही पनि नभईरहेका कारण तरकारीको भान्छामा विषादीको निर्वाध प्रवेश भईरहेको छ । विषादीयुक्त खानाले गम्भीर प्रकृतिका रोग लाग्ने गर्दछन् । तर त्यसको नियन्त्रण प्रति सरकारी स्तरबाट कुनै काम नगरिनाले जनताको स्वास्थ्य रक्षा कसरी हुन सक्ला भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
जनताको स्वास्थ्यमा घातक असर पुग्न सक्ने यस्ता उपभोग्य वस्तुको बिक्री माथि रोक लगाउने तर्फ सरकारले चासो नलिने हो भने यो क्रमशः ठूलै समस्या नबन्ला भन्न सकिन्न । विषादीयुक्त वस्तु बिक्री गर्नाले उपभोक्ता अधिकारमाथि समेत चुनौती खडा गरेको अर्थ लाग्न सक्दछ । तसर्थ यस विषयलाई गम्भीरताका साथ लिन आवश्यक छ ।