मुलुकका लागि जीवन नै उत्सर्ग गरेका सपुतहरुको आज स्मरणको दिन अर्थात शहीद दिवस । एक सय चार वर्ष जहानियाँ राणा शासनका बिरुद्ध दशरथ चन्द्र, धर्मभक्त गंगालाल र शुक्रराज शास्त्रीलाई राणाहरुले मृत्युदण्ड दिएका थिए ।
त्यसै स्मरणस्वरुप माघ १६ गते शहीद दिवस मनइँदै आएको छ । शहीदले आफ्नो जीवन बलिवेदीमा चढाएको निहीत स्वार्थका लागि नभएर मुलुक र जनताका लागि हो । यही कारण सिंगो मुलुकले शहीदहरुको बलिदानलाई सदा स्मरण गर्दै आएको छ । सत्ता जब निरंकुश बन्दछ तब त्यसका बिरुद्ध कसै न कसैले आवाज उठाएकै हुन्छ । देशलाई अन्धकारमा राख्ने, नागरिक अधिकारलाई कुल्चेर स्वेच्छाचारिता लाड्ने कुचेष्टा गर्नेहरुको पतन भएका धेरै उदाहरण छन् । नेपालमा पनि स्वेच्छाचारिताको विरुद्ध तथा जनअधिकार बहालीका आन्दोलनमा शहादत प्राप्त गर्नेहरुको सूची लामो छ । तिनले आफू र आफन्तका लागि प्राणहूति दिएको कदापि होईन । देश र जनताका पक्षमा आवाज बुलन्द गर्नेहरुले नै एक न एक दिन विजय हासिल गरेरै छाड्छन् भन्ने कुराको इतिहास साक्षी छ । यही कारणले भौतिक नश्वर शरीर ढले पनि शहीदहरको बलिदानको गाथा सधै जीवित रहन्छ । आज तिनै समस्त शहीदहरुको स्मरण गर्ने महत्वपूर्ण दिन हो । वर्षमा एक दिन शहीद दिवस मनाएर उनीहरुको शालिकमा फूलमाला अर्पण गरेर मात्रै शहीदहरु प्रतिको हाम्रो जिम्मेवारी पूरा भएको मान्न सकिन्न । शहीदहरुप्रतिको सच्च श्रद्धाञ्जली तब मात्र सम्भव छ जब हामी उनीहरुले देखाएको मार्ग प्रशस्त गर्न सक्दछौ. ।
यसका लागि व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिँदै मुलुक निर्माणका लागि अघि बढ्नुमा, देश र जनताको हितलाई सर्वोपरी मान्दै त्यसकै लागि काम गर्न सकियो भने शहीदहरुले देखेको सपनालाई साकार तुल्याउन सकिने छ । अन्त्यमा सम्पूर्ण प्रातः स्मरणीय शहीदहरु प्रति हार्दिक श्रद्धाञ्जली ।