• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गरिएको छ । आ–आफ्ना समर्थकहरुका साथ पुगेका उम्मेदवारहरुले उत्साहका साथ मनोनयन–पत्र दर्ता गराएका छन् ।
लोकतन्त्रमा जनताको मतबाट निर्वाचित भएर जिम्मेवारीमा जानुपर्ने व्यवस्थालाई सुन्दर पक्ष मानिन्छ । सार्वभौमसत्ताका मालिक जनता नै हुने भएका कारण जनता सामु मतको याचना गरिनु स्वाभाविकै हो । यसरी जितेर गएपछि जिम्मेवारी र दायित्व बोधका साथ काम गरियो भने मात्र जनताको पनि कदर गरेको मानिने छ । उम्मेदवारले आफूलाई निर्वाचनका समयमा ‘जनसेवी’ भन्न रुचाउँछन् । तर जितेर गएपछि आफूले गरेको प्रतिबद्धता भुलेर सत्ताको सुखसयल र स्वार्थपूर्तिमा अलमलिने गरेको भनी कतिपयमाथि जनस्तरबाटै आलोचना र गुनासो नउठेको होईन । जनताको साथमा रहने र उनीहरुकै चाहना अनुरुपको काम गर्ने हो भने त्यस्ताका पछाडि समर्थक र कार्यकर्ता मात्र होईन जनताको जमात पनि साथै रहन्छ । राजनीति पेशाका लागि होईन, सेवाका लागि भएका कारण देश र जनताका पक्षमा काम गर्नका लागि नै निर्वाचनमा उम्मेदवार बन्ने गरिन्छ ।
अहिले निर्वाचन सम्बन्धि कार्यक्रम चलिरहेकोले जनताको मत आफूतर्फ आकर्षित गर्नका लागि सबै उम्मेदवारको सक्रियता त रहन्छ नै । तथापि यसको अन्तिम निर्णायक भनेका जनता नै हुन् । उनीहरुमा पनि उत्साह जगाउने गरी कामको विश्वास जगाउने र जिम्मेवारीमा पुगीसकेपछि त्यसलाई कार्यरुप दिनुपर्ने कुरालाई भने विर्सन मिल्दैन ।