• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सम्पादकीय

सप्तरीवासीको चासोः करदाता सेवा कार्यालय

करदाता सेवा कार्यालय राजविराजबाट लहानमा गाभ्ने तयारीको बिरुद्धमा सप्तरीमा लामो समयदेखि आन्दोलन चल्दै आएको छ ।
पहिला कर कार्यालय नै रहेको भवनमा सेवा कार्यालय ल्याएपछि यहाँका करदातालाई लहान धाउनु पर्ने बाध्यताको अन्त्य भएको थियो । लहानमा रहेको आन्तरिक राजस्व कार्यालयमा धाएर कर बुझाउनु पर्ने अवस्था यसले हटेका कारण सप्तरीका करदाताहरुले राहत पाएका थिए । तर अहिले पुनर्मुसिको भवः भनेझैं फेरि लहानमै राजविराजको कार्यालय गाभ्न थालिएपछि सप्तरीमा जनअसन्तोष बढेको हो । यसलाई अन्यथा भन्न सकिन्न । करदाताको संख्या ७२ हजार रहेको,लक्षभन्दा बढी कर असुली भईरहेको, आफ्नै जग्गा तथा भवनमा कार्यालय रहेका कारण राजविराजको करदाता सेवा कार्यालयलाई लहानमा गाभ्नु पर्ने कुनै उचित कारण पनि नरहेको यहाँका व्यापारी व्यवसायीहरुको तर्क छ । कार्यालय गाभ्ने तरखरमा रहेको सरकारले यसको उचित जवाफ पनि दिन सकेको छैन । जनताले दुःख पाईरहेको अवस्थामा उनीहरुलाई सकेसम्म सुबिधा दिने सरकारको जिम्मेवारी पनि हो । तर पाउँदै आएको सुबिधा पनि खोस्ने काम हुन्छ यदि भने जनताले आन्दोलमा उत्रनु पर्ने बाध्यता नै बन्न जान्छ । त्यसलाई अन्यथा भन्न सकिन्न ।
अतः अहिले थालिएको निरन्तरको आन्दोलनको सम्बोधनकालागि पनि करदाता सेवा कार्यालय लहानमा गाभ्ने निर्णयलाई सरकारले फिर्ता लिन आवश्यक छ । आन्दोलनमा सहभागीहरु विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्तित्व समेत रहेका कारण त्यसको सम्बोधनमा सरकारले ध्यान नपुर्याउने हो भने अवस्था अझै गम्भीर बनेर जान सक्छ भन्नेमा हेक्का राख्न आवश्यक छ ।