करदाता सेवा कार्यालय राजविराजबाट सिरहाको लहानमा गाभ्ने तयारीका बिरुद्धमा राजविराजमा शुक्रबार जिल्लाभरिका स्थानीय तहका जनप्रतिनिधि रिले अनसनमा सहभागी भए ।
विभिन्न पार्टीबाट निर्वाचित पालिका प्रमुखहरु यसरी एउटै स्थानमा रिले अनसन बस्नाले जिल्लाको विकास प्रति सबैको उत्तिकै चिन्ता र चासो छ भन्ने कुरालाई यस घटनाले उजागर गरेको मान्न सकिन्छ । करदाता सेवा कार्यालय गाभ्ने निर्णय भएपछि अहिले सप्तरीमा आन्तरिक राजस्व कार्यालय नै स्थापना गरिनु पर्छ भन्ने माग अघि सारिएको छ । कार्यालयलाई यसरी अर्को जिल्लामा लगेर गाभ्नुको कुनै पनि औचित्य नरहँदा नरहँदै त्यसको तयारी हुन थालेपछि सप्तरीमा त्यसका बिरुध्द आवाज उठ्न थालेको हो । सुरुमा सप्तरी उद्योग बाणिज्य संघले करदाता सेवा कार्यालय गाभ्ने निर्णयका बिरुध्द सक्रियता बढाएको थियो । त्यसमा व्यापारी व्यवसायी समेतले साथ दिएता पनि सरकारले माग पूरा गर्ने तर्फ चासो नदेखाएपछि क्रमशः आन्दोलनमा युवाहरुले चासो लिए र अहिले त्यसमा स्थानीय तहका प्रमुखहरुले समेत साथ समर्थन जनाएका छन् । कुरा करदाता सेवा कार्यालय गाभ्ने सन्दर्भको मात्र होईन,समग्र जिल्लाको विकासमा पनि यसरी नै एकाकार भएर अघि बढ्न सकियो भने सप्तरीमाथि हुँदै आएको उपेक्षामा पनि सुधार आउने अपेक्षा लिन सकिन्छ । सप्तरीको सदरमुकाम समेत रहेको राजविराजबाट सरकारी कार्यालय अन्यत्र सार्ने षड्यन्त्र विगतदेखि नै हुँदै आएको छ । तर त्यति बेला यहाँका राजनीतिक दल,जनप्रतिनिधि तथा सरोकारवालाले त्यसका बिरुद्धमा अड्न नसकेका कारणले नै कतिपय सरकारी कार्यालय अन्यत्र सारिएका हुन् ।
पहिलेदेखिको कर कार्यालय समेत अन्यत्र सारिँदा सप्तरीका जनतालाई कर तिर्न पनि हैरानी रहँदै आएको थियो । जनप्रतिनिधिले जसरी अहिले एकीकृत रुपमा सक्रियता जनाएका छन्,यस्तो कुरामा आगामी दिनमा पनि यस प्रकारको निरन्तरता आवश्यक छ ।