सप्तरी जिल्ला अदालतका न्यायाधीश किशोर घिमिरेले मानव अधिकार उलंघनको घटना न्यूनीकरणका लागि सामाजिक जागरण तथा सचेतता जगाउनु अपरिहार्य रहेको बताएका छन् । एकल महिला मानव अधिकार संजालको आयोजना र एकीकरण नेपालको सह आयोजना तथा राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशको समन्वयमा राजविराजमा शुक्रबार आयोजित मधेस प्रदेश स्तरीय सम्वाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा मञ्चासीन प्रमुख अतिथिसहित अतिथिगण । फोटो : न्यूज टुडे
कार्यक्रममा बोल्दै प्रमुख अतिथि न्यायाधीश घिमिरेले मानव अधिकार हक संरक्षणका लागि सामाजको महत्त्वपूर्ण भुमिका हुने बताए ।
मानव अधिकार उलंघनका घटना रोक्न सबैले आफैबाट सुरु गर्नुपर्नेमा जोड दिदै उनले मानव अधिकारको संरक्षणका लागि सामाजिक जागरण र चेतना अपरिहार्य हुने उल्लेख गरे ।
उनले मानव अधिकार उल्लंघनको घटनाले सबैलाई प्रताडित गरेपनि महिलाहरु बढी प्रभावित भएको बताए ।
‘मानव अधिकार सबैको लागि हो तर मानव अधिकार उलंघनको बढी मार महिलाले खेप्नु परेको छ’ उनले भने, कानूनी रुपमा समान अधिकार भएपनि महिलालाई दोश्रो दर्जामा राख्ने व्यवहारअहिले पनि छ ।’
समाजबाटै मानवता विरोधी गतिविधिको सुरु हुने बताउँदै उनले मानव अधिकार उलंघनको घटना रोक्न सामाजिक रुपमा जागरुक हुनुपर्नेमा जोड दिए ।
७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस तथा १७ औं राष्ट्रिय मानव अधिकार महाभेलाको अवसरमा आयोजित लोकतन्त्र र मानव अधिकार : कानूनको शासन सुशासन र अन्तरपुस्ता न्यायका समर्थन विषयक सम्वाद कार्यक्रममा इन्सेक कोशी प्रदेश संयोजक मनोहर पोखरेल, एकल महिला मानव अधिकार संजालका पूर्व केन्द्रिय उपाध्यक्ष विमला पराजुली, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले मन्तव्य व्यक्त गर्दै मानव अधिकार रक्षाका मानव अधिकारका क्षेत्रका काम गर्ने संघसंस्था तथा मानव अधिकार रक्षाका एकजुट हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा गैरसरकारी संस्थाका महासंघ सप्तरीका अध्यक्ष दिपक कुमार झा, एकल महिला मानव अधिकार संजाल सप्तरीकी अध्यक्ष किरण रौनियार,परिकल्पना नेपालकी अध्यक्ष सुधा देव, उच्च अदालत बार एसोसिएसन जनकपुर-राजविराजकी सचिब दानो चौधरी,जिल्ला बाल संजाल सप्तरीका अध्यक्ष शिव शंकर मण्डल, जेनजी प्रतिनिधि अमरनाथ यादव, महिला बालबालिका मानव अधिकार संजाल सप्तरीकी सचिव मनु खनाल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
महिला मानव अधिकार संजाल सप्तरीकी सदस्य नानीमैयाँ कटवाल ( पुनम पोखरेल )द्वारा संचालित कार्यक्रममा स्वागत एकल महिला मानव अधिकार संजाल मधेस प्रदेशकी सचिब सुभद्रा आले मगरले गरिन भने राष्ट्रिय मानव अधिकार आयोग मधेस प्रदेशका प्रमुख बुद्ध नारायण सहनीले कार्यक्रमको उदेश्य बारे प्रकाश पारेका थिए ।
“मानव अधिकारको सम्मान : सुशासनको सुनिश्चितता न्यायमुलक सम्मुनत नेपाल” नाराकोसाथ आयोजित सम्वाद कार्यक्रममा बरख गणका गणपति सोभित बहादुर चन्द, सशस्त्र प्रहरी बल ६ नम्बर गण राजविराजका सशस्त्र प्रहरी नायब उपरीक्षक उज्ज्वल लामिछाने मधेस प्रदेशका विभिन्न जिल्लाका सक्रिय मानव अधिकारकर्मी, संचारकर्मी, प्रहरी , जेनजी प्रतिनिधिहरुको सहभागिता रहेको थियो।