गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचार सेवा सन्तोषजनक नरहेको भनी पटक–पटक गुनासो उठ्ने गरेको छ । अस्पतालको अवस्था सुधार हुनुपर्ने आवाज उठ्दै आएता पनि सोचे जस्तो सुधार हुन नसकिरहेको तीतो यथार्थ छ ।
देशका पुराना अस्पतालकै रुपमा गणना हुने यस अस्पतालमा बाह्रो तहको मेडिकल सुपरिटेण्डेण्टको दरबन्दी छ । तर अधिकतर समय अचेल त्यहाँ निमित्तले नै अस्पताल प्रशासन चलाउने गरेका छन् । दरबन्दी अनुसार आएका बाह्रो तहका मे.सु.लाई अनेक तिगाउम गरी टिक्न नदिने, काम अवरोध पु¥याउने, राजनीतिक दवाव मार्फत सरुवा गराउने तथा कामै गर्न नसकेपछि आफै पनि सरुवा मिलाएर अन्यत्र जाने गरेका कारण निमित्तले नै बढी जसो समय अस्पताल सञ्चालन गर्दै आएको अवस्था छ । बाहिरबाट सरुवा भएर आएका मे.सु.लाई काम गर्ने वातावरण बनाई दिनुपर्ने स्थानीयको पनि जिम्मेवारी हुन जान्छ । तर विथोलेर कामै गर्न नसकिने भएपछि त्यस्तो वातावरणमा काम गर्न कोही पनि नरुचाउने कुरालाई बुझ्न आवश्यक हुन्छ । तत्कालीन उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले यस अस्पतालको अवस्था सुधारका लागि दरबन्दी अनुसारको मे.सु. पठाउनाका साथै उपकरणको पनि व्यवस्था मिलाएका थिए । यसका बाबजुद पनि उनले उपचार सेवा राम्रो बनाउनका लागि स्थानीयले राम्रो वातावरण तयार गरिदिनुपर्नेमा जोड दिएका थिए । त्यस बेला सुध्रिएको वातावरण फेरी गडबडाउन थालेपछि यसको सिधा असर उपचार सेवामाथि पर्नु स्वाभाविकै थियो र भयो पनि त्यही नै ।
तसर्थ अस्पतालमा राम्रो उपचार सेवा प्रवाहका लागि अब पनि वातावरण राम्रो तुल्याउन पहल थाल्न जरुरी छ । आफू चोखिनका लागि अरुमाथि मात्रै दोष थोपरेर सोचे जस्तो सुधार कसरी सम्भव होला?