• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
वर्तमान सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सुशासन दिने पनि सरकारको जिम्मेवारी रहेको भन्दै भ्रष्टाचारका विरुद्ध जस्तोसुकै कठोर कदम चाल्न आफूहरु तयार रहेको बताएकी छिन् ।
मंगलबार सिंहदरबार आयोजित भ्रष्टाचार बिरुद्धको २२औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा उनले वर्तमान सरकार चुनावका लागि मात्र गठन नभएको भन्दै सुशासनका लागि पनि बनेको स्पष्ट पारेकी हुन् । हो, वर्तमान सरकार जेनजी आन्दोलनको रापतापबाट गठन भएको हो । आन्दोलनकारी जेनजी पुस्ताको मुख्य भाग नै भ्रष्टाचारको अन्त्य तथा भ्रष्टहरुमाथि कारबाही हुनुपर्ने नै थियो । यस अघिका सरकारले भ्रष्टाचार बिरुद्ध कठोर कदम चाल्ने भन्न छुटाएका त थिएनन् । तर पनि व्यवहारतः जनताले सुशासनको प्रत्याभूति पाउन नसकिरहेको अवस्था रहेको कुरा जताततै नसुनिएको होईन । त्यस कारणले पनि भ्रष्टाचारका बिरुद्ध उकुसमुकुसको अवस्था थियो । ठूला–ठूला भ्रष्टाचारका काण्ड सेलाएर जानु, यो वा त्यो नाममा चोख्याउने प्रपञ्च गरिनु, राजनीतिक संरक्षण दिईनु जस्ता गतिविधिका कारण ठूलो भ्रष्टाचारका काण्डमा संलग्न कतिपयले उन्मुक्ति पाईरहेको अवस्था थियो ।
भ्रष्टाचार नियन्त्रण जुनसुकै सरकारको पनि जिम्मेवारी हो । किनभने सुशासनका लागि भ्रष्टाचारको नियन्त्रण हुनै पर्दछ । प्रधानमन्त्रीले गरेको उद्घोष के कति कार्यान्वयन हुने हो । त्यसका लागि आगामी समयकै प्रतिक्षा गर्नुपर्ने हुन्छ । उद्घोष जस्तै कार्यान्वयन पनि हुन सके यसले सरकारको कार्यकाल सफलतामा एउटा कडी अवश्य पनि जोड्ने छ ।