मधेश प्रदेशमा भर्खरै नयाँ सरकारको गठन भएको छ । नेकपा एमालेको नेतृत्वमा यस अघि गठित सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउने छाँटकाँट नदेखी राजिनामा दिएपछि नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको हो ।
यादवले आईतबार सपथ ग्रहण सँगै तीन जना मन्त्री नियुक्त गरेका छन् । काँग्रेसका जंगीलाल राय, जनमत पार्टीका महेश प्रसाद यादव र नेकपा (एकीकृत समाजवादी) का कनिस पटेल मन्त्री नियुक्त भएपनि अन्य मन्त्तीको नियुक्ति हुन बाँकी नै छ । सात दलको समर्थनबाट मुख्यमन्त्री बनेका यादवलाई नेकपा (एमाले) ले समेत विश्वासको मत दिन सक्छ । यस हिसाबले हेर्दा बलियो बहुमतका साथ उनी मुख्यमन्त्रीमा आसीन हुन पुगेका छन् । तथापि मन्त्री नियुक्त गर्दा दलीय भागबण्डा मिलाउनु पर्ने चुनौति नरहेको भने होईन । भागबण्डा नमिल्दा नै विवाद बढ्ने, सबैलाई रोजकै मन्त्रालयमा भाग पु¥याउन नसकिने भएका कारणले पनि आफूलाई समर्थन गरेका सबै दलहरुलाई विश्वासमा साथै लिएर हिड्नु पर्ने नवनियुक्त मुख्यमन्त्रीमाथि गहन जिम्मेवारी छ ।
अहिले समर्थन प्राप्त गरेर सरकारको नेतृत्वमा पुगेका मुख्यमन्त्रीले यो विश्वासलाई टिकाई राखेर काम गरेमा प्रदेशमा राजनीतिक स्थिरता पनि कायम भएर जाने अपेक्षा लिन सकिन्छ । त्यसो भएमा नै सरकारलाई पनि क ाम गर्ने वातावरणको निर्माण हुने र जनताले पनि संघीयताको उपलब्धिलाई अनुभूत गर्न पाउने छन् ।