सप्तरीको पूर्बोत्तर भेगमा हात्तीको आतंक अहिलेसम्म पनि कायमै छ। पछिल्लो पटक कञ्चनरुप नगरपालिकाको पिप्रापूर्वमा हात्तीले गरेको आक्रमणबाट स्थानीय ६५ वर्षिय नारायण खंगको ज्यान गएको छ ।
खेतमा काटेको धान रखवारीकालागि त्यहीँ झुप्रो बनाई बसेका खंगलाई जंगली हात्तीले किचेर मारेको थियो । खंग त एक उदाहरण मात्र हुन्,यस प्रकारका घटना बिगतमा कैयौं पटक भईसक्दा पनि जनताको सुरक्षा तर्फ सरकारको ध्यान पुग्न सकिरहेको छैन । आरक्षपीडित जनताले जंगली जनावरबाट सुरक्षाको माग गर्दै कैयौं पटक सम्बन्धित निकायमा गुहार लगाईसकेका छन् । पटक पटक आन्दोलन पनि नगरेका होईनन् । तर उनीहरुको सुरक्षाका सबालमा कहिले पनि कुनै निकायले चासो लिएको छैन । यही कारणले आरक्ष आसपासका जनता रातभरि निदाउन नसकिरहेको अवस्था छ । आरक्षबाट जनताले पाईरहेको कष्टका सम्बन्धमा चुनावी मुद्दा त निकै बनाईन्छ । निर्वाचनका समयमा त्यस क्षेत्रबाट उम्मेदवार बनेको सबै जसोले आरक्षपीडित जनताका समस्या समाधान गर्ने भनि प्रतिबद्धता जनाउन छुटाउँदैनन् । जब निर्वाचन सकिन्छ अनि विजयी बनेर गएकाले यस प्रति चासो राख्न छोडेका कारणले जनताको निद्रा हराएको हरायै छ । वन्यजन्तुको सुरक्षाकालागि आरक्ष नचाहिने होईन । तर जनावरको सुरक्षा गर्दा जनताले ज्यान गुमाउनु पर्ने अवस्था पनि रहनु हुन्न ।
आरक्षका जनावर बस्तीतर्फ आउन नपाउन् भन्ने सोच राखिनु पर्ने सर्बाधिक महत्वपूर्ण पक्ष हो । तर यसका बारेमा सरकारले कुनै वास्ता नगरिरहेका कारण जनपीडालाई यसरी साँचि रहन कदापि मिल्दैन ।