• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
समाजमा व्याप्त लैंगिक विभेद, दाईजो प्रथा, बालविवाह जस्ता कुरितीका बिरुद्ध विभिन्न सामाजिक संघसंस्था, गैरसरकारी संस्थाहरुले काम गर्दै आएको छ ।
बालविवाह रोक्नका लागि होस् वा बालश्रम मुक्त घोषणाका लागि पालिकास्तरबाट पनि अभियान सञ्चालन गरिने गरेको देख्न पाईन्छ । यसै क्रममा कतिपय पालिका बालश्रम तथा बालविवाह मुक्त घोषणा पनि भईसकेका छन् । यस्ता कुरिती उन्मूलनमा शिक्षाले बढी प्रभावकारिता राख्दछ । शिक्षा चेतनाको आलोक पनि हो । तर त्यसको उत्थानप्रति जति ध्यान दिन आवश्यक छ त्यो नभई रहेको भन्दा अन्यथा नहोला । सप्तरीकै सन्दर्भमा हेर्ने हो भने अधिकांश सरकारी विद्यालयहरु कुनै न कुनै समस्याले ग्रस्त छन् । धेरै समस्याबाट जकडिँदा पनि तिनको समाधान तर्फ चासो देखाईएको छैन । स्थानीय तह मातहत रहेका कारण विद्यालयको शैक्षिक गतिविधि कसरी चल्दै छ भन्नेमा पालिकाका जनप्रतिनिधिहरुले जानकारीमा राख्नु पर्ने हुन्छ । तर सप्तरीका अधिकांश पालिकामा जनप्रतिनिधिले आफू मातहतका विद्यालयको अनुगमन निरीक्षण समेत गरेको बिरलै देखिन्छ । विष्णुपुर गाउँपालिका अध्यक्षले भने यस्तो कार्यमा बढी चासो लिएको स्थानीय जनताले बताउने गरेका भए पनि यस प्रकारको अनुगमन र समस्या समाधानमा अन्य पालिकाले पनि ध्यान दिनु उपयुक्त हुनेछ ।
सबै बालबालिका शिक्षित भए भने कुरितीको पनि क्रमशः आफै अन्त्य हुँदै जाने भएका कारण शैक्षिक उन्नयनमा जोड दिनुका साथै सबैलाई शिक्षा आर्जनको लागि प्रेरित गर्नु अझै उपलब्धिमूलक हुनेछ ।