सुक्खायाम सुरु भएपछि यतिबेला आगलागीका घटनामा समेत वृद्धि हुन थालेको छ ।
गत मंसिर १५ देखि १६ गते विहानसम्म देशभरि १७ वटा आगलागीका घटना भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा रेकर्ड गरिएबाट पनि यस्ता घटना निकै बढ्न थालेको बुझिन्छ । यी मध्येका अधिकांश आगलागी असावधानीका कारणले भएको बुझिएको छ । आगलागीका न्यूनीकरणका लागि गरिने अन्य प्रयास भन्दा पनि व्यक्ति स्वयम्को सजगता पनि आवश्यक रहने भएका कारण यसप्रति आफैले बढी ध्यान पु¥याउन जरुरी हुन्छ । विगतमा भएका आगलागी पनि यस्तै असावधानीका कारणले भएको कुरा प्रमाणित भईसकेको छ । व्यक्तिको सानो असावधानीले पनि आगलागी भई धनजनको क्षति हुने भएका कारण यसलाई गम्भीरतापूर्वक लिन जरुरी छ ।
आगलागी भएर क्षति भईसकेपछि राहत बाँडनेतिर लाग्नु भन्दा त्यस्तो दुःखद अवस्था आउन नै नपाओस भन्नेतर्फ काम हुनु बुद्धिमानी हो । ‘रोग लागि सकेपछि उपचार तिर लाग्नु भन्दा रोग लाग्न नदिने बुद्धिमानी हो’ त्यसै भनिएको होईन ।