महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको कानून संकायतर्फ जिल्ला बाहिरका विद्यार्थीहरुको आकर्षण बढ्दै गएको पाईएको छ ।
कुनै समय कानूनमा उच्च शिक्षा अध्ययनका लागि मुलुकभरि नै प्रसिद्धि कमाएको यस क्याम्पस केही वर्ष अघिसम्म विद्यार्थी संख्या घट्दै गएको अवस्था थियो । क्याम्पस आफै विभिन्न समस्याले ग्रस्त भएपछि त्यसको प्रभाव पठनपाठनमा पर्नु स्वाभाविकै हो । अहिले सप्तरी भन्दा अन्य जिल्लाका विद्यार्थीले कानूनमा उच्च शिक्षा अध्ययनका लागि भर्ना लिएकोबाट यस क्याम्पसको प्रसिद्धिलाई कुनै न कुनै रुपले उजागर गरेको मान्न सकिन्छ । विद्यार्थी संख्यामा भएको वृद्धि सँगै आवश्यक शिक्षकको व्यवस्था गरी नियमित कक्षा सञ्चालन गर्न सकियो भने विद्यार्थी संख्या अझै बढ्ने र क्याम्पसको शैक्षिक गतिविधिमा अझै सुधारको अपेक्षा लिन सकिन्छ । महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन गरेर गएका धेरै व्यक्तित्वले मुलुकका विभिन्न उच्च ओहोदामा बसेर जिम्मेवारी सम्हालेका छन् । यस हिसाबले त्रि.वि. भन्दा पनि जेठो यो क्याम्पस एक प्रकारले सप्तरीका लागि गौरवकै रुपमा रहेको छ ।
क्याम्पसमा पटक–पटक हुने तालाबन्दी तथा अन्य विभिन्न कारणले पठनपाठनमा बाधा उत्पन्न नहोस् विषयगत शिक्षकहरुको पूर्ण रुपमा व्यवस्थाका साथ नियमित कक्षा सञ्चालन भएमा यस क्याम्पसमा विद्यार्थीको आकर्षण अभै बढ्ने अपेक्षा लिन सकिन्छ ।