• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

इन्सेक र बुडीगंगाद्वारा प्रभातफेरी तथा कोणसभा

इन्सेक र बुडीगंगाद्वारा प्रभातफेरी तथा कोणसभा
न्यूज टुडे
राजविराज, १६ मंसिर ।
इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगर र बुडीगंगा गाउँपालिकाद्वारा  “प्रविधिको सही प्रयोग गरौं : लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने मुल नाराका साथ  संयुक्त रुपमा प्रभातफेरी तथा कोणसभा आयोजना गरेको छ । लैङ्गिक हिंंसाविरूद्धको १६ दिवसीय अभियान अन्तर्गत प्रभातफेरी तथा कोणसभा आयोजना गरिएको हो । 
बुडीगंगा गाउँपालिकाको स्थानीय नरग्राम नमूना माध्यमिक विद्यालयबाट सुरू भएको प्रभातफेरी भित्री बस्ती परिक्रमा गर्दै जनप्रिय माध्यमिक विद्यालय पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा बुडीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छेदारले लिङ्गकै कारण हुने भेदभाव, दुर्व्यवहारलाई लैङ्गिक हिंसा भन्ने गरिएकाले यस्ता हिंसाको शिकार भएमा प्रतिरोध गर्नुपर्नेमा जोड दिइन् । उनले आफु माथी भैरहेको हिंसा सहेर नबस्न बरु नजिकको वडा कार्यालय, न्यायिक समिति, प्रहरी कार्यालय, अदालत न्यायिक निकायसम्म पुग्न आग्रह गरिन  ।
इन्सेक कोशी प्रदेशका संयोजक मनोहरकुमार पोखरेलले हिंसा बारे खुलेर बताउन सक्ने वातावरण तयार पार्नुपर्ने बताए  । आफूमाथि भएको हिंसा बारे अझैं पनि अरुलाई बताउन सक्ने अवस्था नहुँदा हिंसाको स्वरुप बढ्दै गएकोले त्यसको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ छ । 
बुडीगंगा गाउँपालिकाका पूर्व अध्यक्ष बालचन्द्र माझीले बसोवासका आधारमा विविधता भएको बुढीगंगा गाउँपालिकामा लैङ्गिक हिंसा न्यूनीकरण र त्यसका लागि १६ दिवसीय अभियानलाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए ।
पूर्व एसपी विद्यानन्द माझीले लैङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियानका क्रममा बुडीगंगा गाउँपालिकामा सचेतना अभियान सञ्चालन हुनु निकै महत्वपूर्ण भएको भएको उल्लेख गरे । अधिवक्ता किशोर माझीले लैङ्गिक हिंसाविरूद्धको १६ दिवसीय अभियानले मात्र नपुग्ने भएकाले वर्षभरी नै लैङ्गिक हिंसाविरूद्ध खबरदारी गर्नुपर्ने आवश्यकता औल्याए । 
बुडीगंगा गाउँपालिकाकी महिला, बालबालिका शाखा प्रमुख निश्चलता कार्कीद्वारा संचालित कार्यक्रममा स्वागत बुडीगंगा गाउँपालिका ६ की सदस्य चन्द्रकला चौधरीले गरिन । 
कार्यक्रममा अधिवक्ता मधुसुदन चौधरी, मानव अधिकार रक्षक सञ्जालका संयोजक देबी बाँस्कोटा, सिडिओ नेपालकी तुलसा आचार्य, दलित महिला संघकी मन्दिरा विश्वकर्मालगायत जनप्रतिनिधि, शिक्षक, बिद्यार्थी, कर्मचारी, प्रहरी, नागरिक समाजको सहभागिता रहेको थियो ।