राजविराजको राममन्दिर देखि अगाडि उत्तरपट्टिको सडक खण्डमा हुने गरेको अस्तव्यस्तता क्रमशः सुधारोन्मुख देखिन थालेको छ ।
ठाउँ–ठाउँमा ट्राफिक प्रहरी खटेर सडक छेउमा राखिने गरेका तरकारी पसललाई भित्रपट्टि सार्न लगाएर सडक खुला गर्न थालेपछि सडकमा जाम हुने गरेको समस्या सुधार हुँदै गएको हो । तथापि अहिले भईरहेको प्रयास तत्कालका लागि मात्र मान्न सकिन्छ । किनभने तरकारी बजार दीगो रुपले सञ्चालनका लागि त हटियाको व्यवस्थापन नै आवश्यक छ । सपिंग कम्प्लेक्स निर्माणका क्रममा हटियाबाट तरकारी व्यापारी लगायत अन्य समेतलाई त्यहाँबाट हटाएपछि नै सडक अतिक्रमण पनि बढेको हो । समस्याको मूल जरो नै हटियाको सञ्चालन नगरिनु रहेका कारण उक्त कार्य तर्फ ध्यान दिनु नै उपयुक्त हुनेछ । सुन्दर तथा व्यवस्थित नगर बनाउनका लागि ट्राफिक व्यवस्थापन आवश्यक रहेको भन्दै जिल्ला प्रहरी कार्यालय सप्तरीले सडकको अतिक्रमण हटाएर त्यसमा सहयोगका लागि सम्बन्धित सबैमा आग्रह गर्दै यो कार्यको थालनी गरेका कारण यसबाट तत्काल राहतकै अनुभूति मिलेको छ ।
तर पनि व्यवस्थित रुपले हाटबजारलाई सञ्चालनमा ल्याउनुको विकल्प नरहने भएका कारण राजविराज नगरपालिकाले यसप्रति चासो लिएर काम गर्न जरुरी छ ।