• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराजस्थित करदाता सेवा कार्यालयलाई लहानस्थित आन्तरिक राजस्व कार्यालयमा गाभ्ने निर्णयका बिरुद्ध सप्तरीका व्यापारी, राजनीितक दल लगायत सम्बद्ध पक्षले आन्दोलन गर्दै आएका छन् ।
शनिबार पनि जिल्ला समन्वय समिति सप्तरीमा आयोजित सर्वपक्षीय बैठकले जारी आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो । माओवादी जनयुद्ध कालमा राजविराजस्थित आफ्नै भवनमा रहेको आन्तरिक राजस्व कार्यालयलाई लहानमा सारियो । त्यसपछि कर तिर्नका लागि सप्तरीका ब्यापारी, व्यवसायीलाई लहान धाउँदाको सास्ती व्योर्नु परेको थियो । जनतालाई परेको समस्या र कठिनाईलाई दृष्टिगत गर्दै २०७५ सालमा आफ्नै जिल्ला सदरमुकाममा आएर कर तिर्न सहज होस भन्नाका लागि राजविराजमा करदाता सेवा कार्यालयको पुनस्र्थापना गरिएकोमा अहिले त्यसलाई लहानमै गाभ्ने निर्णय भएका कारण सप्तरीका ब्यापारी, व्यवसायीमा असन्तुष्टि बढेको हो । लहानस्थित आन्तरिक राजस्व कार्यालयमा राजविराजको करदाता सेवा कार्यालयलाई गाभ्ने निर्णय सच्याईएन भने यहाँका ब्यापारी, व्यवसायीले कर बुझाउनका लागि फेरि सास्ती खेप्नु पर्ने अवस्था आउने निश्चितै छ । राजविराजमा आफ्नै कार्यालय भवन रहेको, ७२ हजार भन्दा बढी करदाता रहेको र लक्ष्य भन्दा पनि बढी कर संकलन भईरहेको अवस्थामा राजविराजको कार्यालयलाई अर्को जिल्लामा लगेर गाभ्नुको प्रयोजन के हुन सक्ला? यहाँका प्रत्येक करदाताको प्रश्न हो यो ।
सरकारले जनताका लागि सुविधा र सहजताको अवसर दिनुपर्नेमा भएको कार्यालयलाई पनि अन्यत्र लगेर गाभ्नु भनेको दुःख दिने नियत हो भनेर किन नभन्ने?