राजविराज–रुपनी सडक खण्ड स्तरोन्नतिको कामको थालनी भएको वर्षौ बितिसकेको छ । तर अहिलेसम्म पनि काम सम्पन्न नभएका कारणले जनता सास्ती खेप्न बाध्य छन् ।
विगतका केही वर्ष यता यो सडक खण्ड अन्तर्गतको मलेठमा डुबान नै हुँदै आएको छ । पानीको निकासका लागि आवश्यक व्यवस्था नै नगरिकन त्यसै काम अलपत्र छाडिने गर्नाले सडकमै पोखरी जम्ने गर्नाले यातायात सञ्चालनमा समेत कठिनाई रहने गरेको छ । त्यसैगरी सुक्खा समयमा सडकको धुलोले धेरैलाई पिरोल्ने गरेको छ । सडक स्तरोन्नतिको काम थालनी गरेपछि त्यसलाई सम्पन्न गर्ने तर्फ ध्यान दिने भन्दा पनि ढिलो काम गर्ने, बीचमै काम छोडेर सडकलाई अलपत्र अवस्थामा राख्ने गरिनाले नै यस्तो अवस्था आएको हो । यहीकारण सडक आसपासका बस्तीका युवाहरुले पटक–पटक आन्दोलन समेत गर्नु परेको छ । कामको जिम्मा लिएको ठेकेदारलाई समयमा काम सम्पन्न गर्नका लागि स्थानीय प्रशासनका तर्फबाट पनि ध्यानाकर्षण नगराईएको होईन । तर त्यसको पनि कुनै सुनुवाई हुन सकिरहेको देखिँदैन । दश कि.मि. यो सडक खण्डको लथालिंग अवस्थाले गर्दा सवारी दुर्घटनाको जोखिम समेत बढेको छ । उक्त सडक भएर यात्रा गर्दा समय पनि निकै बढी लाग्ने अवस्थालाई मध्यनजर गर्दै पश्चिम तर्फबाट राजविराज आवतजावतका लागि राजविराज–बोदेबर्साइन–विष्णुपुर चौक सडक खण्डको घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता छ । कतिपय सवारी साधन जीर्ण सडकका कारण उक्त सडक खण्डको प्रयोग गर्न थालेका छन् ।
पछिल्लो चरणमा जेनजी युवाहरुको दवावका कारण उक्त सडक खण्डमा रोकिएको काम पुनः सुचारु गरिएको छ । अब यसलाई पूर्णता दिलाउने तर्फ सम्बन्धित सबै पक्षले ध्यान दिन जरुरी छ ।