• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

तराई मधेशका किसान यसपालिको धान खेतीका क्रममा दोहोरो मारमा परेका छन् । रोपाइँका समयमा परेको खडेरीले गर्दा उनीहरुले समयमा धान रोप्न पाएनन् । पछि भएको वर्षामा जसोतसो रोपाइँ गरेका उनीहरुको धानवाली पाक्ने समयमा परेको बेमौसमी वर्षाका कारणले फेर क्षति गरिदिँदा उनीहरुले दोहोरो मार खेप्नु परेको हो ।
धानवाली मुख्य आम्दानीको स्रोत मात्र नभई वर्षभरिको खर्च टार्ने र व्यवहार चलाउने समेतको प्रमुख आधार हो । तर यही बाली सखाप बनिदिनाले उनीहरुको अनुहारमा खुशी हराएको हो भन्दा अन्यथा नहोला । उक्त क्षति अव गहुँखेतीमा मिहिनेत गरेर क्षतिपूर्ति गराउने किसानहरुको सपना रहनु स्वाभाविकै हो । तर यसपालि त्यसकालागि सरकारले उपयुक्त व्यवस्था मिलाएको छ त भन्ने कुरालाई मूल्यांकन गरेर हेर्ने हो भने अवस्था नकारात्मक नै देखिने निश्चित छ । गत वर्ष जसरी गहुँ बाली लगाउने समयमा जे जस्ता समस्या ब्यहोर्नु परेको थियो,यस वर्ष पनि ती सबै यथाबत नै छन् । मुख्य रुपमा हेर्दा रसायनिक मलको अभाव यसपालि पनि रहने छाँटकाँट देखिन थालेको छ । प्रहरीले सप्तरीमा लुकाएर कालोबजारीकालागि राखेको रसायनिक मल बरामद गर्न थालेको छ । आएको मल पनि यसरी कालोबजारी गर्न थालिएपछि मारमा चाहिँ किसानहरु नै पर्ने निश्चितै छ । यस बाहेक बीऊ,सिँचाइँ जस्ता विषयको समस्या पनि सामना गर्नु पर्ने नै हुन्छ ।
सरकारले किसानलाई धानको क्षति बापत कुनै राहत त दिएन नै । यसका बाबजुद पनि गहुँकालागि मिहिनेत गर्ने उनीहरुको उत्साह बृध्दिकालागि समयमा पर्याप्त मात्रामा रसायनिक मलको व्यवस्था मिलाउने तर्फ सरकारले ध्यान दिनै पर्ने हुन्छ ।