गत आईतबार सप्तरी प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका–९ स्थित इनर्वा चौकबाट एक सय ३४ बोरा अबैध रसायनिक मल बरामद गरेको छ ।
लुकाई छिपाई राखेर कालोबजारी गरेको प्राप्त सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीद्वारा उक्त मल बरामद गरिएको हो । धानवाली भित्र्याएपछि अब गहुँबालीको समय सुरु हुनेछ । गहुँ लगाउने समयमा विगतदेखि नै रसायनिक मलको अभाव किसानले खेप्दै आएका छन् । यस्तो समयमा मल लुकाएर राख्ने अनि बढी मुल्य असुलेर कालोबजारी गर्ने सम्भावना बढी हुने भएका कारण प्रशासनले त्यसप्रति कडाई गर्न आवश्यक छ । केन्द्रबाट पठाईने रसायनिक मलको विवरणका भरमा सबै किसानले रसायनिक मल प्राप्त गरे भनेर ढुक्क हुन सकिन्न । प्रमुख कुरा त यसरी पठाएको मल के कति परिमाणमा किसान समक्ष वितरण भयो भन्ने नै हो ।
मल यदि ठीक तरिकाबाट वितरण भएको छैन, किसानहरु पाउनबाट बञ्चित भएका छन् भने बीचमा कतै गडबडी भएको हुन सक्छ भन्ने कुरालाई ध्यानमा राखेर त्यसको अनुसन्धान तत्कालै गरियो भने कालोबजारी र कृत्रिम अभावको गुञ्जाईस रहँदैन । कुरा हनुमाननगर कंकालिनी नगरपालिकाको मात्र होईन, जिल्लाको अन्यत्र पनि यस्तो कालोबजारी भएको हुन सक्छ भन्ने सोचका साथ ठीक तवरले रसायनिक मल वितरणको परिपाटी बसाउनुपर्ने आवश्यक छ ।