• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मधेश प्रदेशमा यति बेला सत्ता प्राप्तीको लागि शक्ति संघर्ष चल्दै छ । सत्ता समर्थक (गठबन्धन) का केही सांसदले गरेको विद्रोहका कारण २५ दिनमै जितेन्द्रप्रसाद सोनार (सोनल) नेतृत्वका सरकार ढल्न पुग्यो । 
मुख्यमन्त्री बनेपछि उनले दुई प्रदेश सभा सदस्यलाई विना विभागीय मन्त्रीसम्म त बनाए । तर मन्त्रिपरिषद्लाई पूर्णता दिन नभ्याउँदै सत्ताच्युत बन्न प¥यो । तत्पश्चात प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) का संसदीय दलका नेता सरोजकुमार यादवलाई सबै भन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त त गरिन । तर एमाले बाहेकका अन्य दलले धारा १६८(२) अनुसारको सरकार गठन हुनुपर्ने माग तिब्र बनाउँदै लगेपछि उनीहरुलाई छल्दै यादवलाई एक होटलमा (महोत्तरी स्थित) मुख्यमन्त्रीको शपथ गराएपछि यति बेला मधेश प्रदेशको राजधानी जनकपुरधाममा सत्तापक्ष र विपक्षी गठबन्धनका बीच घम्साघम्सी चल्दै छ । प्रदेश स्थापनापछिको लालबाबु राउत गद्दी नेतृत्वको सरकारले पूरा कार्यकाल काम गर्न भ्याएपनि त्यसपछिको सरकार छोटो समयमै ढल्ने गरेको छ । सत्ताका लागि गठबन्धन फेर्ने र यताबाट उत्ता गएर मिल्ने राजनीतिक दलहरुका बीच बढ्दो प्रवृत्तिले सरकार नै अस्थिर बन्दै गएको छ । जनता माझ हाँसो र वितृष्णाको विषय बन्ने गरेको भएपनि कुर्सीको दौडका लागि हुने गरेको रस्साकस्सी, आरोप प्रत्यारोप, विरोध, आन्दोलन लगायतका गतिविधि बढ्दो छन् । यो क्रम कहाँ पुगेर अन्त्य हुने हो र कस्तो परिणति ल्याउने हो भन्ने कुरा यकीन गर्न गाह्रो छ । हमिलिँदै गएको राजनीतिकलाई संग्लो तुल्याउने जिम्मेवारी फेरि पनि दलकै काँधमा छ । 
त्यसैले कुर्सीमोह भन्दा पनि थिति र पद्धति कसरी बसाउने भन्ने तर्फ ध्यान केन्द्रीत गरिनुपर्ने आवश्यकता छ ।