• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीको अग्नीसाईर कृष्णसवरण गाउँपालिका आन्दोलनमय बन्दै आएको छ । एउटा मात्र विषय केन्द्रित आन्दोलन हुँदा त त्यसको समाधान मार्फत अवस्था सहज बनाउन सकिएला । तर अनेकों विषय चरणबद्ध उठान भएर सुरु हुने आन्दोलन लम्बिनु स्वाभाविकै हुन्छ ।
अग्नीसाईर कृष्णसवरणमा यस्तै प्रकारका आन्दोलनका श्रृंख्लाहरु जोडिँदै गएका छन् । कहिले हाटबजार लाग्ने जग्गालाई भू–माफियासँग मिलेर व्यक्तिका नाममा कायम गराउन खोजेको भन्दै आन्दोलन चलेको छ त कहिले सिनियर कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत तोक्नु पर्ने माग सहित कर्मचारी आन्दोलित हुने गरेका छन् । यसै क्रममा तलव माग्दै शिक्षक तथा कर्मचारीहरुले आन्दोलन र धर्ना दिने गरेका छन् भने अहिले गाउँपालिका अध्यक्ष सहित जनप्रतिनिधिहरुको राजीनामा माग्दै बेथिति विसंगति विरुद्ध संघर्ष समितिद्वारा विरोध प्रदर्शन चलन थालेको छ । गाउँपालिकामा पनि अध्यक्ष एकातिर अनि बाँकी जनप्रतिनिधि अर्को खेमाया ध्रुवीकृत भएको अवस्थाका कारण समन्वय र सहकार्यको अभाव देखिएको छ । जनताबाट निर्वाचित भई आएका जनप्रतिनिधिहरुले विवाद साम्य पार्दै आ–आफ्नो जिम्मेवारी पूरा गर्नका लागि समन्वय अभावका कारणले आवश्यक काम हुन सकिरहेका छैनन् । विवादै विवादमा अलमलिएर समय खेर फाल्ने हो भने यसले जनअसन्तोष अझै बढेर जान सक्छ ।
त्यसैले विवाद र विरोध बढ्नुको मुख्य कारण गाउँपालिकाले ठीक तवरले कार्य सम्पादन गर्न नसक्नुलाई नै लिनु पर्ने हुन्छ । समन्वयका साथ काम लाग्न सक्दा मात्र विवाद पनि क्रमशः मत्थर भएर जानेछ । कामै गर्न सकिएन भने आफ्नो कार्यकाल पनि असफलता दर्ज हुन सक्छ भन्ने कुरालाई जनप्रतिनिधिहरुले गम्भीरताका साथ लिन आवश्यक छ ।