• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
विश्वासको मत लिनु अगावै मधेश प्रदेशमा जितेन्द्रप्रसाद सोनार (सोनल) नेतृत्वको सरकार ढल्यो । मुख्यमन्त्री नियुक्त लगत्तै दुई जना बिना विभागीय मन्त्री नियुक्त गरेका सोनलले मन्त्रिपरिषद्को पूर्णता तथा कार्य विभाजन गर्न नपाउँदै २५ दिनमा सत्ताच्युत हुनुप¥यो ।
अहिले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सबै भन्दा ठूलो दलको हैसियतमा नेकपा (एमाले) का सरोज कुमार यादवलाई नियुक्त गरेकी छिन् । उपचारका लागि भन्दै सोमबार प्रदेश राजधानी जनकपुरबाट निस्केकी उनले महोत्तरी पुगेर यादवलाई मुख्यमन्त्रीका रुपमा सपथ गराएकी छिन् । मधेश प्रदेशमा पनि सरकार बनाउनका लागि कुनै दलको एकल बहुमत छैन । जनताले दलहरुलाई एकापसमा मिलेर सरकार बनाउन र सञ्चालन गर्न जनादेश दिएका छन् । तर सत्ताको नेतृत्वमा पुग्ने, मन्त्री बन्ने महत्वाकांक्षा र होडबाजीले मधेश पनि गाँजिन पुगेको छ । जसरी भएपनि आफूले नै नेतृत्व र अवसर पाउनु पर्ने भन्ने हठका कारणले मिलीजुली बनेको सरकार छोटै समयमा विघटन हुने रोगले गाँज्न थालेको छ । यसले गर्दा सरकार बनाउने र गिराउने ध्याउन्नमा मात्रै समय बित्ने गरेका कारण जनतामा भने नैराश्यता बढ्दो छ । कति दिनसम्म टिक्न सकिने हो भन्ने मात्रै चिन्ता बढ्नाले जनताका लागि हुनुपर्ने काम अघि बढ्न सकिरहेको छैन । सरकार टिक्न नपाउने अनेक तिकडमबाजी बढ्ने गरेका कारणले  अस्थिरताले जरो गाड्दै लगेको छ ।
यस प्रकारको अस्थिरता र बढ्दो बेथितिले संघीयतमाथि नै आघात पुग्न सक्छ भन्ने कुराप्रति सजगताको आवश्यकता छ । राजनीतिक दलहरुले भागवण्डा र सत्ता प्राप्तीलाई प्राथमिकता दिने भन्दा पनि व्यवस्था कसरी टिक्न सक्छ भने विषयलाई केन्द्रमा राखेर अघि बढ्नु पर्ने आवश्यकता छ ।