मेट्रीक नापतौल प्रणाली लागू भएको निकै वर्ष वितिसकेको छ । उपभोक्तालाई ठीक परिमाणमा सामान उपलब्ध होस्, ठगिनु नपरोस भन्नाका लागि नै यो प्रणाली लागु गरिएको हो ।
नाप तौलमा प्रयोग गरिने ढक तराजुलाई ब्यापारीले दुरुस्त अवस्थामा राख्नुपर्ने प्रावधान विपरित अहिले पनि बजारमा ढुंगा, ईटाको ढक र पुराना तराजु जोख्नका लागि प्रयोग गरिएको छ्याप्छ्याप्ती देखिने गरेका छन् । त्यस्ता ढक र तराजुमा तौलेर दिईने सामानको परिमाण ठीक रहे नरहेको यकीन गर्न गाह्रो पर्ने र तौलेर सामान दिने ब्यापारीको भनाईमै विश्वास गरेर समान किन्नु पर्ने उपभोक्ताको बाध्यता छ । यस्ता ढक तराजुको प्रयोग गर्न रोक लगाउनाले तथा तोकिएको मापदण्ड अनुरुपका ढक तराजुको प्रयोग गर्नका लागि प्रशासनले बजार अनुगमनमा ध्यान दिनुपर्ने हुन्छ । तर सप्तरीमा बजार अनुगमन यदाकदा मात्र हुने भएका कारण मापदण्ड विपरितका ढक तराजु अहिले पनि प्रयोग भईरहेको अवस्था छ ।
उपभोक्ताको हिटलाई समेत ध्यानमा राख्दै यस्ता कमजोरी सुधार्नका लागि स्थानीय प्रशासनले कदम चाल्न आवश्यक छ । अन्यथा उपभोक्तामाथि ठगी हुन सक्ने कुरालाई नकार्न सकिने छैन ।