• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीको सुरुङ्गा नगरपालिकाको कार्यशैलीलाई लिएर स्थानीय युवाहरुले प्रश्न उठाएका छन् । सुरुङ्गा युवा समुह युथ/जेनजीले विभिन्न ३० बुँदे मागसहित नगरप्रमुखलाई ज्ञापन–पत्र बुझाएका हुन् ।
भ्रष्टाचार विरुद्ध सुशासनयुक्त नगर निर्माणका लागि दलाल विचौलिया, भ्रष्ट कर्मचारी र भ्रष्ट जनप्रतिनिधिलाई कारवाही गर्नुपर्ने, प्रमुख मागका साथ ज्ञापन–पत्र बुझाईएको हो । देशमै सर्वोत्कृष्ट नगर रहेको भन्ने प्रतिवेदन माथि घोर आपत्ति सहित कागजी प्रकृया पूरा गरेर मात्रै उक्त लक्ष हासिल हुन नसक्ने ज्ञापन–पत्रको आशय छ । सर्वोत्कृष्टको प्रतिवेदन आफैमा विरोधाभाषपूर्ण र शंकास्पद रहेको जिकिरका साथ पालिकाको कार्यशैलीप्रति जनताको वितृष्णा बढेको दावी समेत छ । स्थानीय तहहरु स्थानीय सरकारकै भूमिकामा रहेका भएपनि कतिपय स्थानीय तहले काम गर्ने तिर लाग्ने भन्दा पनि लोकप्रियता हासिल गर्ने उद्देश्यका साथ कागजी मिलानतर्पm मात्रै बढी जोड दिने गरेको भनी गुनासो उठ्ने गरेको विषय नौलो होईन । काम यदि ठीक ढंगबाट भएको छ भने पालिका तथा त्यहाँका जनप्रतिनिधिहरुको लोकप्रियता पनि आफसेआफ बढ्नेमा शंका मान्नु पर्दैन । जनताका समस्याहरुलाई दृष्टिगत गरी प्राथमिकीकरण निर्धारणका साथ काम गर्ने हो भने मात्र स्थानीय तह र जनप्रतिनिधि प्रति जनताको आस्था र विश्वास बढेर जाने हुन्छ । स्थानीय तहहरुमा बजेट अभावका कारण सोचे जस्तो सबै काम सम्पन्न गर्न नसकिने अवस्था आउन सक्छ । तर भएको बजेटको पनि मितव्ययिताका साथ उचित काममा लगाएर सदुपयोग गर्न सक्दा मात्र पनि कसैले औंला उठाउन नसक्ने वास्तविकता निश्चित नै छ । 
त्यसैले कागजी मिलान वा प्रचारवाजीका आधारमा सस्तो लोकप्रियता हासिल गर्ने तिर लाग्नु भन्दा पनि ठोस काम गरेर आफ्नो कार्यकालमा खरो उत्रन सक्ने धेयका साथ जनप्रतिनिधिहरुले काम गर्नुपर्ने आवश्यकता छ ।