बर्षाका कारण मुलुकका विभिन्न ठाउँको सडक आवागमन अवरुद्ध भएको छ । पहिले पनि बाढीले क्षति गरिसकेको सडक पुर्निमाण हुन सकेको छैन ।
धेरै बिग्रे, भत्केका सडक खण्डमा टालटुले तालमा मर्मत गरी जसो तसो यातायात चल्न लायक बनाईएको भएपनि सामान्य बर्षा हुनासाथै ती सडकहरुको आवागमन पुनः रोकिने अवस्था आउने गरेकाले यात्रुदेखि यातायात व्यवसायी समेतले हैरानी र नोक्सानी व्यहोर्नु पर्ने अनपेक्षित अवस्था आउने गरेको छ । सडकमा क्षति पुगेपछि तत्कालै ठोस रुपले पुनर्निमाणको कामलाई अघि बढाउने तर्फ ध्यान नदिईएका कारण पटक–पटक यस्तो असहज अवस्था आउने गरेको हो । मुलुकमा सबैभन्दा बढी सडक यातायात मार्फत नै जनताले सेवा लिने भएका कारण बहुसंख्यकलाई यस प्रकारको समस्याले पिरोलिरहेको हुन्छ । त्यसैले जनतामाथि पर्दै आएको यस्तो कठिनाई प्रति ध्यान दिने जिम्मेवारी सरकारकै हुने भएका कारण यस्ता विषयमा उदासीनता साध्ने, अनदेखा जस्तो गरिन्छ भने त्यसलाई शोभनीय विषय मान्न सकिदैन । भत्केको सडकमा दुर्घटनाको जोखिम बढ्ने संकेत मिल्नासाथ त्यहाँ आवागमन रोकेर तत्कालको दुर्घटनालाई टार्ने उपाय मात्रले काम चल्न सक्दैन । अत्यावश्यक कामले गर्दा जनतालाई यात्रा गर्नुपर्ने बाध्यता रहन्छ ।
अतः यस्ता कुरामा ध्यान दिने हो भने अस्थायी तवरले आवागमन सुचारु गर्ने भन्दा पनि समस्याको स्थायी समाधान खोज्नु नै उपयुक्त हो । यसका लागि निर्माण कार्य गर्दा ठोस रुपमा होस भन्ने तर्फ ध्यान पु¥याउन जरुरी छ ।