प्रशासनले पटाका लगायतका विष्फोटक पदार्थको प्रयोग र बिक्री वितरणमा रोक लगाएको छ । तर पनि यसको प्रयोग र कारोबार रोकिएको चाहीँ छैन ।
सप्तरीमा मंगलबार प्रहरीले विभिन्न ब्राण्डका पटाका तथा विष्फोटक पदार्थ नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा हजारौं मूल्यका पटाका नष्ट गरिएको हो । प्रहरीले विभिन्न ठाउँबाट नियन्त्रणमा लिएका विष्फोटक पदार्थ यसरी नष्ट गरे पनि बजारमा त्यसको बिक्री वितरण अझै पनि रोकिएको छैन । दीपावली देखि छठसम्म जताततै पटाका पडकाउने, आतिशवाजी गर्ने गरिएको सहजै देख्न सकिन्छ । जुन परिमाणमा प्रहरीले मंगलबार पटाका नष्ट गरेको छ, अचेल जिल्लामा प्रयोग भईरहेको आतिशबाजीलाई हेर्दा त्यो भन्दा कैयौं गुणा बढी यस्ता बस्तु बिक्री गरिएको भन्ने सहजै अनुमान लगाउन सकिन्छ । बाहिरबाट नल्याईकन पटाका लगायतका विष्फोटक पदार्थको कारोबार सम्भव नरहने अवस्था छ । यसको आयातमाथि नै प्रतिबन्ध छ भने त्यो अवश्य पनि अबैध रुपमा ल्याईएको हो भनी बुझ्न गाह्रो छैन । प्रहरीको आँखा छल्दै यसलाई भित्र्याउने र बिक्री गर्नेहरु सक्रिय छन् भन्ने कुरा प्रष्टै छ ।
तसर्थ दुर्घटना गराउने, आगलागीको सम्भावना हुने, ध्वनि तथा बायू प्रदूषण बढाउने र शान्तिसुरक्षा कायम गर्नमा पनि बाधकका रुपमा रहेको पटाका तथा अन्य विष्फोटक पदार्थको प्रयोग र कारोबारप्रति कडाईका साथ रोक लगाउनु पर्ने आवश्यकता छ ।