• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीको बोदेबर्साइन–५ मा महोत्सवका नाममा आयोजकले विकृति फैलाएको भन्दै जेनजीका प्रतिनिधि र स्थानीय युवाहरुले पाँच दिन अघि पत्रकार सम्मेलन गरेरै आरोप लगाएका छन् ।
प्रशासनले महोत्सव बन्द गर्न दिएको निर्देशनका बाबजुद मेला सञ्चालन गरेको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । मेला महोत्सवका नाममा अश्लील गीत नृत्य प्रदर्शन गर्ने गरिएका कारण समाजमा विकृति फैलने यस्ता गतिविधि रोक्न समेत उनीहरुले माग गरे । युवाहरुले आरोप लगाए झै विकृति फैलने खालका गतिविधि भएका हुन भने त्यसलाई वाञ्छनीय मान्न कदापि सकिँदैन । कुरा बोदेबर्साइनको मात्र होईन दशैं, तिहार लगायतका ठूला चाडपर्वका समयमा यस्ता कार्य अन्यत्र पनि नभएका होईनन् । रमाईलोका नाममा थिएटर, नाचगान लगायतका कार्यक्रम गर्ने गराउने भएपनि सामाजिक मर्यादा विपरितका अश्लीलतालाई स्वीकार गर्न सकिदैन । यस्ता कार्यलाई छुट दिईरहने हो भने सामाजिक मर्यादाको उल्लंघन त हुन्छ नै । यसका साथसाथै होहल्ला, मारपिट, अशान्ति जस्ता अनपेक्षित घटना समेत बढेर जाने हुन्छ । प्रशासनले रोक्नका लागि दिएको निर्देशन विपरित यस्ता काम हुने गर्दछन् भने आयोजकमाथि कारवाही गरेर भएपनि यस प्रकारका अवाञ्चित कार्यलाई नियन्त्रण गरिनु पर्दछ ।
सामाजिक स्तरबाट समेत यस प्रकारका कार्यलाई रोक लगाउने कुरामा अग्रसरता लिन सकियो भने मात्र मर्यादा कायम हुनेछ ।