• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

पत्रकारको हवाला दिँदै प्रहरीलाई थर्काउने व्यक्ति दुई दिन अघि सप्तरीमा पक्राउ परेका छन् । सिरहाको लहान नगरपालिका घर भई काठमाण्डौं बस्दै आएका मनोज मानव भन्ने मनोज महतोलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी अधिकृत समेतलाई फोनमा अभद्र शब्द प्रयोग गर्दै थर्काउन थालेपछि उनलाई पक्रेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।

अचेल प्रेस शब्दको दुरुपयोग गर्ने,पत्रकारका नाममा गैर पत्रकारले अनेक प्रकारका हर्कत गर्ने प्रबृत्ति बढ्न थालेको छ । नक्कली पत्रकारले अबैध कार्य गर्ने अनि त्यसका कारणले वास्तविक पत्रकारले समेत बद्नामी सहनु पर्ने अवस्था उत्पन्न हुन थालेको छ । प्रेस कार्डको दुरुपयोगका विषयमा यस अघिदेखि नै कुरा उठ्दै आएका कारण यस प्रकारको कुकृत्यमाथि रोक लगाउन अत्यावश्यक छ । पत्रकारको नाममा अन्य धन्दा चलाउने,सरकारी कार्यालयदेखि विभिन्न निकायमा पुगेर बार्गेनिंग गर्ने जस्ता काम हुन थालेपछि यसले पत्रकारिता प्रति समर्पित वास्तविक पत्रकारहरुको समेत मानमर्दन हुने अवस्था आएको छ ।

तसर्थ यस्ता दुष्कर्ममाथि रोक लगाउनकालागि नेपाल पत्रकार महासंघको अगुवाईमा आवश्यक कदम चाल्ने समय आईसकेको छ । अव पनि यस प्रकारको विकृतिका बिरुध्द गम्भीरताका साथ नलाग्ने हो भने पत्रकारका नाममा अबैध धन्दा चलाउने गिरोहको दवदवा अझै बढेर नजाला भन्न सकिन्न । मर्यादित पत्रकारिता गर्दै आएका पत्रकारहरुकालागि यो ठूलो चिन्ताको विषय रहेका कारण त्यस्ता अबैध कार्यमा लागेकाहरुलाई नंग्याउनमा सञ्चारकर्मीहरु पनि ऐक्यबध्दताकासाथ लागि पर्न जरुरी छ ।