तिहार,छठ लगायतका पर्वहरु निकट आईपुगेका छन् । यस्तो समयमा पटाका लगायतका विष्फोटक पदार्थको कारोबार बढी हुने गर्दछ । विष्फोटक पदार्थको कारोबार तथा प्रयोग निषेधित छ । तर पनि यसको कारोबार यति बेला निकै बढ्ने गरेको छ ।
विष्फोटक पदार्थका कारण आगलागी,प्रदूषण तथा अनेक प्रकारका दुर्घटनाको समेत जोखिम बढ्ने भएका कारण यसलाई कडाईका साथ नियन्त्रणको आवश्यकता छ । तर बजारमा लुकिछिपी यसको बिक्री बितरण अहिले पनि भई नै रहेको छ । बजारमा बेच्ने गरिएपछि त्यसको प्रयोग हुनु त स्वाभाबिक नै हुनजान्छ । पटाका आयातमाथि नै रोक लगाईएको छ । तर पनि पैसा कमाउने नियतका साथ यसलाई लुकिछिपी ल्याएर बेच्ने कार्य रोकिन सकेको छैन । निषेध गरिएको विष्फोटक पदार्थको आयात तथा कारोबार गैरकानूनी हुने नै भयो । प्रहरीले विभिन्न समयमा यस्ता वस्तु नियन्त्रणमा लिएर कारवाही अघि बढाउने गरेको पनि छ । तर पटाका र अन्य विष्फोटक पदार्थ ल्याउने र बेच्ने क्रम नरोकिएका कारणले अहिलेसम्म यसको नियन्त्रणकालागि गरिएका प्रयासबाट मात्र चित्त बुझाउन सकिने अवस्था चाहिँ छैन । यसकालागि अझै सक्रियताका साथ लाग्नु पर्ने आवश्यकता छ ।
विष्फोटक पदार्थको प्रयोगका कारण अत्यधिक धुवाँ,ध्वनी प्रदूषण बढ्ने भएका कारणले जनताको स्वास्थ्य रक्षाका हिसाबले पनि यसको प्रयोगमाथि रोक लगाउनु पर्ने हुन्छ । त्यसमाथि शान्ति सुरक्षा कायम गर्नमा पनि बाधा उत्पन्न हुने भएका कारण यसको प्रयोग तथा कारोबारलाई कुनै पनि दृष्टिकोणबाट उचित मान्न सकिँदैन ।