गत जेठ १५ गते झकिझकाउ तयारीका साथ उद्घाटन भएको राजविराजको बसपार्क सञ्चालन नभएका कारण अनेकन समस्या र कठिनाई झेल्नु परिरहेको थियो ।
पछिल्लो चरणमा जेनजी युवाहरुले चासो लिएर यसबारे दवाव दिन थालेपछि बल्ल यो संरचनालाई सञ्चालनमा ल्याईने भएको छ । ठूलो लगानीबाट निर्मित स्तरीय बसपार्क उद्घाटन भएर पनि पाँच महिनासम्म सञ्चालनमा नल्याई सुनसान छाडिदिएका कारण नगरको मेनरोड सवारी साधनको पार्किङ्ग स्थल बन्दै आएको थियो । यसले गर्दा अनेक प्रकारका समस्या बढेको कारण नगरबासीमा पनि भित्रभित्रै असन्तुष्टी बढ्दै गएको विदितै छ । बसपार्क सञ्चालनमा ल्याउनका लागि नगरपालिकाले नै नेतृत्व लिएर अघि बढ्नु पर्नेमा देखाईएको उदासिनताले एक प्रकारको अन्यौलता बढ्दै गएको पनि हो । बसपार्कबाट नै सार्वजनिक यातायातका साधनहरु विभिन्न रुटमा छुट्ने तथा पार्किङ्ग पनि त्यही गर्ने सुरुवात भएपछि नगर क्षेत्रको अस्तव्यस्ततामा अवश्य पनि सुधार आउने छ । यसका साथै नगर क्षेत्रमा अव्यवस्थित रुपमा हुँदै आएको निजी सवारी साधनहरुको पार्किङ्गलाई पनि व्यवस्थित तुल्याउने तर्फ ध्यान पुर्याउन सकियो भने सडकमा हुने गरेको अवरोध पनि क्रमशः हट्दै जानेछ ।
यसमा नगरपालिका, ट्राफिक प्रहरी लगायत सम्बद्ध सबै पक्षको सकारात्मक सहयोग अपेक्षित छ ।