• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
सप्तरीको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले वडाका टोल टोल पुगी त्यहाँका अभिभावक समक्ष बालबालिकाहरुलाई पढ्नका लागि विद्यालयमा पठाउन आग्रह गर्न थालेका छन् ।
गत बुधबार गाउँपालिका अन्तर्गत वडा नं.२ को लौवापारस्थित मंडलटोल, मुसहरटोल, धनकोवाही, रामटोल लगायतका घर–घर पुगेर उनले यस्तो आग्रह गरेका हुन् । सबै बालबालिकालाई विद्यालयमा भर्ना गर्ने उद्देश्यका साथ थालनी गरिएको यस्तो अभियानलाई सकारात्मक नै मान्नु पर्दछ । ‘बालबालिका भविष्यका कर्णधार हुन्’ भनेर त्यसै भनिएको होईन । मुलुकको जिम्मेवारी प्रति भविष्यमा काँध थाप्ने जनशक्ति भनेकै आजका बालबालिका हुन् । त्यसैले उनीहरुका लागि उचित शिक्षादीक्षा दिलाएर योग्य नागरिक बनाउनमा सरकारले ध्यान पु¥याउनै पर्ने हुन्छ । बालबालिका भर्ना प्रति स्थानीय सरकारको भूमिकामा समेत रहेका स्थानीय तहका जनप्रतिनिधिले चासो लिने विद्यालयमा रहेका समस्या समाधानका लागि अग्रसरता लिने जस्ता कुरामा ध्यान दिन सके बालबालिकाहरुले समूचित शिक्षा हासिलको अवसर प्राप्त गर्ने सम्भावना पनि बढेर जान्छ ।
भर्ना भएका बालबालिकाले बीचमै विद्यालय छोड्ने जस्ता विषयमा पनि ध्यान दिँदै त्यसको कारण पत्ता लगाउने तर्फ पनि ध्यान दिन सकियो भने ‘सबैका लागि शिक्षा’ भन्ने नाराले पनि सार्थकता पाउनेमा विश्वासको आधार बन्नेछ ।