• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
दशैंको समयमा पनि सप्तरीको अग्निसाईर कृष्णसवरण गाउँपालिका तथा त्यस मातहतका कर्मचारी र शिक्षकहरुले तलव खान पाएनन् ।
अनेक थरिका विवाद र बेथितिका कारण गाउँपालिका गाँजिदै जानु, समस्या समाधानमा जनप्रतिनिधिले पहल गर्नुको साटो गाउँपालिका अध्यक्षले नै व्यवधान र समस्या खडा गर्ने गरेको भन्दै उनका विरुद्ध नै गाउँपालिकामा चरणबद्ध आन्दोलन हुँदै आएको छ । स्थानीय सरकारको भूमिका र जिम्मेवारीमा रहेका गाउँपालिकामा जनताले व्यहोर्नु परेका समस्याको समाधान गर्न, विकास निर्माणका कार्यहरुलाई अघि बढाउन नै बाधा अड्चन सिर्जना हुँदै आएको छ । जिम्मेवारी नै नबुझेका कारण गाउँपालिका अध्यक्ष लगायतका जनप्रतिनिधिहरुको राजीनामा माग्दै अहिले पनि स्थानीयले आन्दोलन जारी राख्दै आएका छन् । गाउँपालिका मातहतमा विभिन्न विद्यालय, सरकारी कार्यालयहरु छन् । तिनलाई निर्वाधपूर्वक सञ्चालनको व्यवस्था र वातावरण मिलाउनु पर्ने निकायका रुपमा रहेको गाउँपालिकामा नै यसरी आन्दोलन चर्किन थालेपछि कसरी काम चल्न सम्भव होला? बारम्बारको विवाद र आन्दोलनका कारणले थिलथिलो बन्दै आएको गाउँपालिकाको अवस्थामा सुधार ल्याउनका लागि फेरि पनि जनप्रतिनिधिले नै अग्रसरता लिनुको विकल्प रहँदैन ।
आफ्नो जिम्मेवारी र भूमिकालाई स्मरण गर्दै जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्नका लागि कार्यशैलीमा सुधारका साथ अघि बढ्नु पर्ने आवश्यकता छ । सुधार तर्फ केन्द्रीत नहुने हो भने आफ्नै कार्यकाल असफल नबन्ला भन्न सकिन्न ।