कर्मचारीलाई दशैंमा समेत तलव खुवाउन नसकेको प्रति सप्तरीका शम्भुनाथ नगरपालिकाले क्षमायाचना गरेको छ । शुक्रबार विज्ञप्ति नै निकालेर नगरपालिकाले क्षमायाचना गरेको हो ।
लेखा अधिकृत र लेखा परीक्षण अधिकृतका कारणले समयमा कर्मचारीहरुलाई तलव खुवाउन नसकिएको विज्ञप्तिमा उल्लेख छ । कुरा शम्भुनाथ नगरपालिकाको मात्र होईन, सप्तरीको खडक नगरपालिका, अग्नीसाईर कृष्णसवरण गाउँपालिकाले पनि दशैंमा कर्मचारीहरुलाई तलव नखुवाएको भन्ने खबर आएको छ । कतै अख्तियारी नदिएको त कतै कर्मचारी बीच बरिष्ठता सम्बन्धि विवादका कारणले एक पक्षले कार्यालयमा तालावन्दी नै गरेका कारणले तलव खुवाउन नसकिने अवस्था आएको हो । स्थानीय सरकारकै हैसियतमा रहेका स्थानीय तह मातहत तलव खाने शिक्षक तथा कर्मचारीको संख्या ठूलो रहन्छ स्वाभाविकै हो । यसका लागि स्थानीय तहको नेतृत्वमा रहेका व्यक्तिले शिक्षक तथा कर्मचारीहरुले समयमा तलव खान पाए कि पाएनन् भन्ने कुरामा ध्यान पु¥याउन सक्नु पर्दछ । अन्तिम समयमा विज्ञप्ति निकालेर क्षमायाचना मात्रले तलव खान नपाई दशैंको मुखमा समस्यामा परेका कर्मचारीहरुको असहज परिस्थितिको समाधान निस्कन सक्दैन ।
समयमै तलव खुवाउने बारेमा पहिले नै चासो लिएर समस्याको हल खोज्ने तर्फ लागेको भए अहिले यस्तो अवस्था पक्कै आउने थिएन । काम गरेपछि पाकेको तलव समेत नपाउँदा कर्मचारी भोकभोकै कसरी खट्लान? भन्ने कुरामा समयमै विचार नपु¥याउँदाको परिणामका रुपमा यस्तो अनपेक्षित अवस्थालाई लिंदै सुधार तर्फ ध्यान पु¥याउन जरुरी छ ।