• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सम्पादकीय

सामूदायिक विद्यालयमा सुक्दो विद्यार्थी संख्या

सप्तरीको बभनगामाकट्टी स्थित लक्ष्मी वल्लभ नरसिंह माविको प्राथमिक तहमा बिहीबार उपस्थिति विद्यार्थीको संख्या १७ पाईएको छ ।
एकदेखि पाँच कक्षासम्ममा प्रतिकक्षा दुई देखि अधिकतम ७ जना विद्यार्थीको उपस्थितिले उक्त विद्यालयमा विद्यार्थीहरुको संख्या सुक्दै गएको चित्र प्रस्तुत गरेको मानियो भने अन्यथा नहोला । विद्यालय प्रशासनले पनि विद्यार्थी संख्या यसरी सुक्दै गएको वास्तविकतालाई स्वीकार त गरेको छ । तर यसप्रति कुनै चिन्ता र चासो चाहीँ नलिने गरेको भनी विद्यार्थीकै अभिभावकहरुको आरोप छ । समस्या लक्ष्मी बल्लभ नरसिंह माविको मात्र होईन । सप्तरीका धेरैजसो सामूदायिक विद्यालयमा अचेल यस्तै अवस्था देखिने गरेको छ । विद्यार्थी भर्ना अभियान वर्षमा एक पटक चलाउँदा निकै तामझाम गरिन्छ । भर्ना भएका विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको कुरालाई प्राथमिकताका साथ प्रचार पनि गरिन्छ । तर भर्ना भएका विद्यार्थी किन विद्यालय आउन छाडेका हुन् भन्ने सम्बन्धमा चासो र खोजखबर नलिनाले सामूदायिक विद्यालयहरु सुक्दै गएका हुन भन्दा अन्यथा नहोला । अहिले निजी विद्यालयहरुमा गाउँ–गाउँमा सञ्चालित छन् । तिनको पढाई शुल्क पनि बढी रहने गरेको छ । सबै विद्यार्थीलाई सुलभ तरिकाले निःशुल्क पठनपाठनको वसर प्राप्त होस् भन्ने उद्देश्यका साथ सामूदायिक विद्यालयहरुमाथि सरकारको ठूलो लगानी छ । तर तिनमै विद्यार्थीहरु घट्दै गएका छन् भने कमजोरी आफूभित्र नै छ भन्ने कुरातर्फ पनि ध्यान पु¥याउन आवश्यक हुन्छ ।
सामूदायिक विद्यालयमा पठनपाठनको स्तर प्रति चित्त नबुझेर नै अभिभावकहरुले निजीमा लगेर आफ्ना बालबालिकालाई भर्ना गर्ने गरेको उनीहरुकै मुखबाट सुन्न नपाईने होईन । अतः यस प्रति समयमै विचार पु¥याउनु नै उत्तम हुनेछ ।